पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली र ४ विदेशी आरोहीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेकी छिन् ।
भण्डारीले सामाजिक सञ्जालमार्फत दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेक िहुन् ।
उनले स्वर्गीय निर्मल पुर्जाले आफ्नो अदम्य साहस, असाधारण क्षमता र ऐतिहासिक कीर्तिमानमार्फत नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिलाउनुका साथै सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गरेकी छिन् ।
पुर्जासहित पुरबहादुर गुरुङ ९युक्ता०, निमा शेर्पा, किलीपेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्डु शेर्पालगायत दिवंगत सबै आरोहीहरूले पर्वतारोहण क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणीय रहने भण्डारीले जनाएकी छिन् ।
उनले ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका सबै आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेकी छिन् ।
