`

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

Nepal One HD १७ साउन २०८३ १४:४०
फोटोफिचर

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन्।

तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा भण्डारीले नेपाललाई सम्मान गरेकी हुन्।

सम्मान ग्रहणपछि सम्बोधन गर्दै नेपालले जेनजी आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडले मुलुकको राजनीतिक तथा बौद्धिक सम्पदामा गम्भीर क्षति पुगेको बताएका छन्।

महत्वपूर्ण ऐतिहासिक दस्तावेज, सरकारी भवन, राजनीतिक नेताका घर तथा पुस्तकालयमा रहेका दुर्लभ सामग्री नष्ट हुनु दुःखद भएको उनको भनाइ थियो।

नेपालले तुल्सीलाल स्मृति प्रतिष्ठानमा रहेका महत्वपूर्ण सामग्रीसमेत आगजनीबाट नष्ट भएको उल्लेख गरे। उनका अनुसार नेकपा एमालेको पुस्तकालयमा रहेका बहुमूल्य पुस्तकहरू पनि घटनाका क्रममा जलेर नष्ट भएका थिए।

उनले राजनीतिक आन्दोलनका नाममा हुने हिंसा र विनाशले तत्कालीन संरचनामा मात्र नभई मुलुकको इतिहास र भावी पुस्ताको ज्ञानसम्पदामै क्षति पुर्‍याउने बताए।

नेपालले मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा योगदान दिएका अग्रज व्यक्तित्वको सम्मान गर्न नयाँ पुस्तालाई आग्रह गरे। इतिहास निर्माणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिको योगदान बुझ्न र त्यसको कदर गर्न नसक्नु समाजका लागि गम्भीर विषय भएको उनको भनाइ थियो।

उनले नयाँ पुस्तालाई इतिहाससँग जोड्न नसक्दा विगतका संघर्ष र योगदानको मूल्यांकन कमजोर हुँदै जाने बताए।

समाजमा बढ्दै गएको हिंसा, आगजनी र अरूको सम्पत्तिमाथिको आक्रमणप्रति नेपालले गम्भीर चिन्ता व्यक्त गरे। अरूको घर र सम्पत्ति जलाउने वा परिवारमाथि हिंसा गर्ने व्यक्तिले त्यही पीडा आफ्नै परिवारले भोग्नुपरेको भए कस्तो महसुस हुन्थ्यो भन्ने प्रश्न गर्नुपर्ने उनले बताए।

उनले वर्तमान पुस्ताले कस्तो संस्कार र संस्कृति ग्रहण गरिरहेको छ भन्ने विषयमा सबैले आत्ममन्थन गर्नुपर्नेमा जोड दिए।

नेपालले आन्दोलन वा असन्तुष्टिका नाममा हिंसा र विनाशलाई स्वीकार गर्ने संस्कारले समाजलाई सही दिशातर्फ लैजान नसक्ने बताए।

तस्वीरहरू:


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *