हिमगंगा माविको विकासमा सक्दो सहयोग गर्ने प्रदेश सांसद राजभण्डारीको प्रतिबद्धता
काठमाडौं । कोशी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्वसामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले हिमगंगा माध्यमिक विद्यालयको विकासका लागि आफूले सक्दो सहयोग गर्न सधैँ तयार रहेको बताएका छन्।
हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै राजभण्डारीले हिमगंगा पूर्वविद्यार्थी समाजले लिखुपिके गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
उनले शिक्षामा जात, भाषा र धर्मको कुनै विभेद हुन नहुने धारणा राख्दै हिमगंगा पूर्वविद्यार्थी समाजको उद्देश्य नै समाजलाई अघि बढाउनु रहेको बताए।
‘शिक्षामा कुनै पनि किसिमको जात, भाषा, धर्म हुँदैन,’ उनले भने, ‘हिमगंगा विद्यार्थी समाजको उद्देश्य नै त्यहाँको समाजलाई अगाडि पुर्याउनु हो।’
राजभण्डारीले हिमगंगा माविको शैक्षिक तथा भौतिक विकासका लागि विगतमा पनि आफूले सहयोग गर्दै आएको र आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले गाउँको विकासमा राजनीतिक दलको विभाजनभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए। ‘यो पार्टी, त्यो पार्टी नभनीकन विगतमा गाउँको विकासका लागि काम गरेको छु,’ उनले भने।
प्रदेशसभामा प्रतिनिधित्व गर्दा विद्यालय तथा गाउँको विकासका लागि बजेट ल्याउन आफूले निरन्तर पहल गरेको दाबी गर्दै राजभण्डारीले आवश्यक बजेट विनियोजनका लागि प्रदेशसभामा संघर्ष गर्नुपरेको समेत बताए।
‘प्रदेशसभामा लडेर, झुकेर त्यहाँ बजेट हाल्ने काम मैले पनि गरेको छु,’ उनले भने।
