विद्यालय विकासमा राजनीतिक विभाजन त्यागेर सबै एकजुट हुनुपर्छ : प्रधानाध्यापक बस्नेत
काठमाडौं । हिमगंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेम बस्नेतले विद्यालयको विकासका लागि राजनीतिक दलको विभाजनभन्दा माथि उठेर सबै बौद्धिक तथा पूर्वविद्यार्थीहरू एकजुट हुनुपर्ने बताएका छन्।
हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रधानाध्यापक बस्नेतले विद्यालयको विकासमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे। उनले हिमगंगा पूर्वविद्यार्थी समाजले हिमगंगा माविको विकासमा मात्रै नभई समग्र लिखुपिके गाउँपालिका तथा अन्य विद्यालयका लागि समेत काम गर्दै आएको बताए।
तर, समाजले अझै पर्याप्त रूपमा गति लिन नसकेको भन्दै उनले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सबै पूर्वविद्यार्थीलाई जोड्नुपर्नेमा जोड दिए।
उनका अनुसार सन् २००९ देखि हालसम्म हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका जोसुकै व्यक्ति पनि पूर्वविद्यार्थी समाजमा आबद्ध हुन सक्नेछन्।
‘विद्यालयको विकासका लागि कसैले पनि एमाले, कांग्रेस भन्नुहुँदैन,’ बस्नेतले भने, ‘विद्यालयको विकासका लागि सबै बौद्धिक व्यक्तित्वहरू एकजुट हुनुपर्दछ।’
उनले पूर्वविद्यार्थी समाजलाई विद्यालयको विकासमा मात्र सीमित नराखी समग्र सामाजिक विकासको आधारका रूपमा स्थापित गर्नुपर्ने बताए। समाजले समुदायमा देखिने विभिन्न विसंगति तथा विकृतिविरुद्ध समेत आवाज उठाउँदै सामाजिक रूपान्तरणमा भूमिका खेल्नुपर्ने उनको भनाइ छ।
‘यो समाजलाई समाजको सामाजिक विकासको आधार बनाउनुपर्दछ। यो समाज समाजमा हुने विसंगतिहरूका विरुद्धमा लड्नुपर्दछ,’ बस्नेतले भने।
