शिक्षा ऐन संशोधनमा पनि पूर्वविद्यार्थी समाजले भूमिका खेल्नुपर्छ : सांसद तामाङ
काठमाडौं । कोशी प्रदेशसभा सदस्य डोल्मा तामाङले शिक्षा क्षेत्रको सुधार र समाज परिवर्तनका लागि हिमगंगा पूर्वविद्यार्थी समाजले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन्।
हिमगंगा पूर्वविद्यार्थी समाज, नेपालको तेस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै सांसद तामाङले शिक्षा समाजको ‘तेस्रो आँखा’ भएको बताइन्। उनले मानव सेवाभन्दा ठूलो धर्म अर्को नभएको उल्लेख गर्दै सबैले सकारात्मक कर्ममार्फत समाज निर्माणमा योगदान गर्नुपर्ने धारणा राखिन्।
‘संसारको सबैभन्दा ठूलो धर्म मानव सेवा हो। हामी सबैले राम्रो कर्म गर्नुपर्छ,’ उनले भनिन्, ‘शिक्षा समाजको तेस्रो आँखा हो। यी सबै कुरामा हिमगंगा पूर्वविद्यार्थी समाजले योगदान गर्नुपर्दछ।’
तामाङले शिक्षा क्षेत्रको विषयवस्तु र शिक्षा ऐनमा आवश्यक सुधार तथा संशोधनका लागि समेत पूर्वविद्यार्थी समाजले भूमिका खेल्नुपर्ने बताइन्। समयअनुकूल शिक्षा प्रणाली विकास गर्न शिक्षा ऐनसँगै पाठ्यक्रम तथा शैक्षिक विषयवस्तुमा समेत परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
‘शिक्षा क्षेत्रको विषयवस्तु र शिक्षा ऐन संशोधन गर्न पनि तपाईंहरूको भूमिका रहोस्। शिक्षा ऐन परिवर्तन गर्नुपर्छ, विषयवस्तु परिवर्तन गर्नुपर्छ,’ उनले भनिन्।
उनले शिक्षा क्षेत्रको सुधारसँगै समग्र सामाजिक परिवर्तनका लागि समाजले विशेष योगदान पुर्याउने अपेक्षा व्यक्त गरिन्। हिमगंगा माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले आफ्नो विद्यालयप्रति गर्व गर्न सक्ने वातावरण निर्माण गर्न पूर्वविद्यार्थी समाजले काम गर्नुपर्ने उनको धारणा थियो।
‘यहाँ उपस्थित भएका मानिसले म हिमगंगा माविमा पढेको भनेर गर्व गर्न सक्ने वातावरण यो समाजले निर्माण गरोस्,’ तामाङले भनिन्।
