`

चार महिनामै परिवर्तन खोज्नु हुँदैन: महामन्त्री आचार्य

Nepal One HD २४ साउन २०८३ ६:१८
प्रमुख खबर

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले मुलुकमा लामो समयदेखि थुप्रिएको बेथिति अन्त्य गर्दै दिगो परिवर्तनका लागि सरकारलाई समय र नागरिकको निरन्तर साथ आवश्यक रहेको बताएका छन् ।

रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा महामन्त्री आचार्यले चार महिनाको अवधिमै सरकारको सम्पूर्ण कामको मूल्याङ्कन गर्नुभन्दा सुधारका प्रयासलाई निरन्तरता दिनुपर्ने बताए । उनले देश निर्माणका लागि तत्काल परिणाम खोज्नेभन्दा दीर्घकालीन आधार तयार गर्नुपर्नेमा जोड दिए ।

“छत्तीस वर्षदेखि बिग्रिएको व्यवस्था चार महिनामै परिवर्तन हुन्छ भन्ने हुँदैन । छिटो परिणाम देखाउने नाममा गरिएको काम दिगो नहुन सक्छ । देश बलियो बनाउने आधार तयार गर्न समय लाग्छ”, महामन्त्री आचार्यले भने ।

महामन्त्री आचार्यले रास्वपा तथा सरकारका काममा कमजोरी देखिए खुलेर प्रश्न गर्न नागरिकलाई आग्रह गरे । नागरिकको प्रश्न र खबरदारीलाई आफूहरूले सकारात्मक रूपमा लिने उल्लेख गर्दै उहाँले त्यस्ता प्रश्नले पार्टीलाई थप जिम्मेवार र बलियो बनाउने बताए । “हामीले गलत काम गर्‍यौँ भने प्रश्न गर्न नहिचकिचाउनुहोस् । तपाईँहरूको प्रश्नले हामीलाई सच्याउने र बलियो बनाउने काम गर्छ”, उनले भने ।

सरकारप्रति नागरिकले गरिरहेको खबरदारीलाई विरोधका रूपमा मात्र बुझ्न नहुने महामन्त्री आचार्यले बताउनुभयो । सरकारसँग नागरिकको अपेक्षा धेरै भएकाले प्रश्न र आलोचना भइरहेको उहाँको भनाइ थियो । रास्वपा स्थापना भएको चार वर्ष पुगेको उल्लेख गर्दै उनले सरकार सञ्चालनको प्रारम्भिक चरणमै सबै समस्या समाधान भइसक्ने अपेक्षा व्यावहारिक नहुने बताउनुभयो । सरकारले सही दिशामा काम गर्न खोजेको जानकारी दिए ।

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका आचार्यले विगतका सरकारका समयमा विभिन्न अनियमितता तथा काण्डसँग सम्बन्धित समाचार आउने गरेको दाबी गर्दै पछिल्लो चार महिनामा त्यस्तो अवस्था नरहेको बताए । उनले केन्द्र सरकारले अघि बढाउन खोजेका कतिपय काममा विभिन्न किसिमका अवरोध सृजना गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए । ग्यास तथा मल वितरणलगायतका विषयमा समस्या सृजना गरिएको उल्लेख गर्दै उनले सरकारलाई काम गर्न सहज वातावरण आवश्यक रहेको बताए ।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले मुलुकमा विद्यमान बेथिति अन्त्य नगरेसम्म अपेक्षित परिवर्तन सम्भव नहुने बताए । उनले आफूहरू सरकारको विरोध गर्न नभई नागरिकका समस्या सरकारसम्म पुर्याउन र आवश्यक ठाउँमा खबरदारी गर्न सक्रिय रहेको स्पष्ट पारे ।

रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग नागरिकको ठुलो अपेक्षा रहेको बताउँदै ती अपेक्षा पूरा गर्न सरकार र पार्टीले जनतासँग निरन्तर संवाद गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा रास्वपा नेता तथा प्रतिनिधिसभा सदस्य डा लेखजङ्ग थापा, तौफिक अहमद खाँ, मञ्जु भुसाल, पुनम अग्रवाल, सुशान्त वैदिकलगायतले आ–आफ्नो धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *