‘कांग्रेस फुटाउने लाइनमा म जान सक्दिनँ’ (भिडियाे वार्ता)
नेपाली कांग्रेस जुट्छ कि फुट्छ ? आम चासो यसैमा छ । कांग्रेसको विवाद यतिबेला निर्णायक मोडमा पुगेको छ । सभापति गगन थापा र इतर पक्षीय नेता डा. शशांक कोइराला पक्ष बीचको बढ्दो दूरी पनि यतिखेर नै छ । यस्तो अवस्था बिचमा कोइराला पक्षले यही २९ साउनमा भेला बोलाएको छ ।
यो भेला कांग्रेसलाई एकताबद्ध बनाउने कि कांग्रेसलाई विभक्त बनाउने ? पानीढलो पनि हुन सक्ने कतिपयको आकलन छ । यस्तो अवस्थामा कांग्रेसलाई एकताबद्ध कसरी बनाउन सकिन्छ ?
कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि २८ साउनमा नेपाल आउँदैछन् । देउवा नेपाल आइसकेपछि नेपाली कांग्रेसलाई एकताबद्ध बनाउने विषयमा राजनीतिक माहोल बन्छ कि कांग्रेसलाई विभाजन गर्ने माहोल चाहिँ बन्छ ? र, बालेन सरकारको साढे चार महिनाको कार्यकाल कस्तो देखियो ? यिनै विषयमा आज हामी संवाद गर्दैछौँ- नेपाली कांग्रेसका नेता रामहरि खतिवडासँग गरिएको संवादको सम्पादित अंश :
कांग्रेसको अहिले देखिएको मुख्य विवाद के हो ?
पहिलो कुरा त नियमित महाधिवेशन र विशेष महाधिवेशनकै कुरा थियो । त्यो परिस्थिति पार भयो । विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले जुन दिन मान्यता दिएको थियो, त्यस दिनदेखि गगन थापालाई सभापति मानेर सबै जानुभयो । त्यो भन्दा अगाडि पनि चुनावको समयमा सबैले नेपाली कांग्रेसको क्यान्डिडेटहरूलाई सहयोग गरेकै थियो । तर हामी कहाँ चुक्यो भन्दाखेरी हामी सबै नयाँमा जान्छौं भन्यौँ र कहीँ पुरानालाई टिकट दियौं ।
सात–आठ चोटी लगातार चुनाव लडेका साथीहरूलाई छुटायौंन । जस्तो : विजयकुमार गच्छदारलाई टिकट दियौँ । नाम नलिउँ । कोही कहाँका छन्, कोही कहाँका छन्, त्यसरी नै टिकट केहीलाई दियौँ । १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १४७ सिट गुमायौँ र १८ सिट जित्यौँ । समानुपातिकसमेत गरी २७५ मध्ये ३८ सिट जित्यौँ । यो कांग्रेसका लागि ठूला उपलब्धि भन्न कसैले सक्दैन । तर, हामीले नारा चाहिँ धेरै ठूला दियौँ । ‘बदलियौँ कांग्रेस, बदल्छौं देश’ भनेर गएका थियौँ । सकेनौँ । त्यो कुरा तथ्य हो, त्यसलाई स्वीकार्नु पर्छ ।
सक्यो कांग्रेस भयो ?
‘बदलियौँ कांग्रेस, बदल्छौं देश’ भन्यौँ तर जनताले त्यसलाई ‘एक्सेप्ट’ गरेन । कसैले पनि गरेन । र, हामी अलिकति थोरै विभाजित मनस्थिति त्यहाँ गयौं । महाअधिवेशन चुनाव अगाडि गर्ने कि विशेष महाधिवेशन गर्ने कि ? भन्ने द्वेध मनस्थितिमा थियौं । तर, विशेष महाधिवेशन तत्कालै भयो । भलै म त्यतिखेर विशेष महाधिवेशनको पक्षधर थिइनँ ।
अहिले पनि हुनुहुन्न नि ?
अहिले त सर्वोच्चले पार्टीको आधिकारिकता सम्बन्धमा जे भन्यो, त्यसलाई मान्नुपर्छ । विशेष महाधिवेशनको सभापति र टीमलाई मानेकै छौं । त्यसमा सभापति गगन थापा होइन भन्ने ठाउँ छैन ।
अहिले त्यसमा सर्वोच्चको विगतको फैसलामा केही त्रुटि भयो, त्यसमा पुनः अवलोकन गर्नुपर्ने देखियो भनेर सर्वोच्च अदालतले नै निस्सा प्रदान गर्यो । पुनरावलोकन भनेको त पुनः अवलोकन न हो ।
यो त्यही विवाद हो कि महाधिवेशन र विशेष महाधिवेशनको । त्यसैको परिणाम हामीमा अलिकता द्वैध मनस्थिति र विभाजित मनस्थिति सिर्जना भयो । कसले कसलाई सम्मान गर्ने, नगर्ने, कुन लेभलमा राख्ने, नराख्ने, चर्चा परिचर्चा भयो । एउटा समूह भन्न थाल्यो कि पुराना र बुढा जतिलाई अहिले नै पाखा लगाइहाल्यौं । अब तिनीहरूको केही भूमिका रहँदैन । ‘पब्लिकले एक्सेप्ट’ पनि गर्दैन । धेरै वर्ष खाएका उनीहरूलाई लखेट्नुपर्छ भन्ने एउटा भान भयो ।
एउटा चाहिँ जे हुनु भइसक्यो । पुरानाको पनि योगदान छ, नयाँलाई पनि आकर्षण गर्नुपर्छ । सबैलाई मिलाएर जाउँ भन्ने अर्को भावनाको विकास भयो । पार्टी नेतृत्वले सबैलाई जसरी समेटेर लामो समयसम्म जानुपथ्र्यो, अलि नसकेको हो कि जस्तो देखिएको हो । त्यसैको परिणाम हो – अहिलेको अवस्था ।
कांग्रेसलाई खुम्चाउनका लागि तपाईंहरूको भूमिका निर्णायक रह्यो कि रहेन हराएर ?
म अनुरोध गर्न चाहन्छु- ‘मुटुमाथि ढुङ्गा राखी हास्नु पर्या छ’ भनिन्छ नि । मुटुमाथि ढुङ्गा राखेर पनि कांग्रेसलाई नै सहयोग गरेको छ धेरै साथीहरूले । चित्त बुझे पनि नबुझे पनि । कांग्रेस जितोस् । हारोस् भन्ने कसैको चाहना थिएन ।
अन्तरघात गर्नु भएन ?
अन्तरघात कहाँ भयो ? थाहा छैन मलाई । केही ठाउँमा भयो पनि होला । तर, हामीले चाहिँ इमानदारीपूर्वक कांग्रेसलाई सहयोग गरेका हौँ । मेरै जिल्लामा त पाँच भोटको मात्रै अन्तर भयो ।
तपाईंको भूमिका हराउन काफी भयो भन्ने छ नि त्यहाँ ?
त्यसो भए एउटा कुरा के बुझ्नुस्– त्यहाँ (ओखलढुंगा)को लिडर म मात्रै रहेछु । मैले जिताउँदा जित्ने, हराउँदा हार्ने मात्रै रहेछ कांग्रेस ?
मैले त्यहाँबाट २०७० देखि निरन्तर संसदमा प्रतिनिधित्व गरेको छु । जनताका बीचमा गएको छु । सबैसँग समन्वय गरेको छु । स्थानीय निर्वाचनमा कांग्रेसलाई जिताउन भूमिका खेलेको छु ।
कुमार भुइँटेललाई जिताउनका लागि तपाईंले पुरापुर साथ दिनुभयो ?
एउटा कुरा के विश्वास गर्नुहोस् भने मैले पार्टीका सबै ‘क्यान्डिडेट’लाई जिताउन पूरापूर सहयोग गरेँ । टिकट नपाउन्जेल मेरो ‘अब्जेक्सन’ थियो होला । म पाउनुपर्छ भन्ने लाइनकै थिएँ । मेरो जनमानसमा पनि नकरात्मक प्रभाव थिएन । जनताले धेरै नरुचाएको मान्छे पनि थिइनँ । तथापि, पार्टीले निर्णय गर्यो, टिकट दिएन । टिकट नपाएपछि मैले तीन/तीन चोटी कांग्रेसबाट पाएको मान्छे म, दायाबायाँ गर्दिनँ भने ।
तर, समस्या के रह्यो जिल्लामा भने टिकट पाउने साथीहरूले समायोजन गर्न सक्नुभएन । कुन ठाउँमा को को मान्छेलाई लानुपर्ने ? कुन ठाउँमा गएर कार्यक्रम गर्नुपर्ने ? हामीले सभापति गगन थापालाई सदरमुकाममा लगेर ४ गते कार्यक्रम गरौँ भन्यौँ । उम्मेदवार तयार हुनु भएन । उम्मेदवार नभईकन हामीले जवर्जस्ती लाने कुरा भएन । बेहुलो त उही हो त्यतिखेर । चुनावमा त बेहुलो नै मान्नुपर्यो नि उमेदवार ।
उसैले जे जे भन्छ, त्यही त्यही मान्नुपर्यो नि । हाम्रो त्यतिखेर त उहाँ नै उम्मेदवार । उहाँले नमानेपछि लाने कुरा भएन ।
पछि अर्को कार्यक्रम एक ठाउँमा गरौं भन्यो । उहाँ तयार हुनु भएन ।
भनेपछि हारको कारण उहाँ (कुमार लुइँटेल) आफैँ ?
म्यानेज गर्न सकिएन भनौँ ।
सुरुकै विषय, २९ साउनमा गरिने भेला पार्टी एकताबद्ध गर्ने कि पार्टी विभक्त गर्ने, त्यसको लागि पानी ढलो हुन्छ भन्ने छ । के हुन्छ ?
हामी कांग्रेस एकताको पक्षमा छौँ । म त अहिले तपाईंलाई अनुरोध गर्छु कि धेरै दिन भयो– म दुवैतिर उपस्थित भएको पनि छैन । नढाँटी भन्दा ।
म पार्टी एकताको पक्षमा छु । दुईवटै पक्षलाई मिलाउने पक्षमा छु । सभापतिले पनि हिजो पनि बोल्नु भएको छ, अब बिर्सिनुपर्छ । अरूले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर हिँड्नु हुँदैन । हामीले पुरानो पुस्तालाई पनि सम्मान गर्नुपर्छ । नयाँ पुस्तालाई पनि आकर्षित गर्नुपर्छ । कसैलाई अपमान गर्दै गर्दा मेरो सम्मान हुँदैन । बोल्न हामी पनि जान्दछौँ । कसलाई कति गाली गर्नुपर्छ भन्ने थाहा होला । तर, गाली गरेर, कसैको बेईज्जत गरेर आफ्नै पार्टीका साथीहरूको उछितो काढेर पार्टी दह्रो हुँदैन ।
म कसैको आलोचक पनि होइन । म कसैको अन्धभक्त समर्थक पनि होइन । म पार्टीको एउटा इमानदार कार्यकर्ता हुँ । भोलि पनि रहिरहन्छु । मलाई आज देशव्यापी रुपमा यो कांग्रेस भनेर चिनाउने, यो ठाउँमा पुर्याउने नेपाली कांग्रेस पार्टी हो । त्यसैले पार्टीभित्रका साथीलाई अपमान गरेर, आलोचित गरेर, गाली गरेर मलाई म ठूलो बन्छु भन्ने त्यो अवस्थामा जान चाहन्नँ ।
एउटा साथीले अर्कोलाई गाली गरेर बस्नु हुँदैन । म यहाँ देख्दै छु । कोही शेरबहादुर देउवालाई यति गाली गरिरहेका छन्, कोही गगन थापालाई यति गाली गरिररहेका छन्, ती दुईवटै अतिवादी हुन् । कसैलाई गाली गरेर समस्या समाधान हुँदैन ।
यी दुईवटै प्रवृत्तिले अन्ततः पार्टीलाई फुटाउँछ ?
त्यसले त कहाँ नजिक तुल्याउँछ त । टाढा राख्ने काम गर्छ । शेरबहादुर देउवाको नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान छ । जनजाति, महिला, दलित, पिछडिएको वर्गलाई समावेशी राजनीतिमा ल्याउने, पार्टीभित्र महिला आयोग बनाउने, दलित आयोग बनाउने । धेरै सुधारात्मक कामहरू उहाँले गर्नुभएको छ । नेपालको राजनीतिमा उहाँको ठूलो योगदान छ ।
मतलव देउवा नेपाल फर्किँदा सभापति गगन थापाले सम्मान गर्नुपर्छ ?
किन नगर्ने ? गर्नुपर्दैन आफ्नो नेतालाई ? कसैले गिरिजाप्रसादलाई गाली गर्ने, कसैले कृष्णप्रसादलाई गाली गर्ने, कसैले बीपीलाई गाली गर्ने, कसैले सुशील कोइरालालाई गाली गर्ने, कसैले गगन थापालाई गाली गर्ने, कसैलाई शेरबहादुरलाई गाली गर्ने, अनि पार्टीका सबै नेतालाई गाली गरेर हामी कहाँ पुग्ने ? गगन थापाले सम्मान गर्नुपर्छ । शेरबहादुर देउवाले पनि गगन थापालाई माया गर्नुपर्छ त । विवादै छैन । पार्टी मिलाउने हो भने अरु विकल्प छैन ।
यति मात्रै होइन, पार्टीभित्र शेखर कोइराला छन्, पूर्णबहादुर खड्का छन्, अरु नेताहरू पनि छन् । सबै नेतालाई सम्मान गरेर जाँदा कोही अपमानित हुँदैन । कसैको केहि झर्दैन, अझ सम्मान बढ्छ, पार्टीभित्र एकता कायम हुन्छ, कार्यकर्तामा उत्साह पैदा हुन्छ । ५/१० जना त एक जना नेतासँग होलान् नि । कसैको अपमान गर्दा पाँचवटा भोट बिग्रियो भने हारिन्छ । अघि तपाईंले ओखलढुंगाको उदाहरण दिनुभयो नि, बिग्रिँदो रहेछ । बिगार्न चाहनेहरूले सक्दा रहेछन् । त्यसैले म यत्ति अनुरोध गर्छु कि अहिले एउटा नेताले अर्को नेतालाई गाली गरेर, लामो राजनीति गर्ने मान्छेले नेतालाई र जनतालाई चिढ्याएर हुँदैन ।
तर, तपाईंहरूले नै २९ साउनमा भेला गरेर पार्टीलाई फुटतिर लानको लागि बल गरिरहनु भएको छ नि होइन ?
त्यो गलत हो । भनाई पनि गलत हो । भेला गर्न पाइएला । उहाँहरूले महाधिवेशन भन्नुभएको छैन नि पार्टी फुटाउन ।
६-७ महिना भयो कि पार्टी सभापतिले पनि समन्वय गर्नु भएको छैन । अरु कसैले पनि गरेको छैन । हामी भेला गरेर पार्टी एकता बनाउन आधारहरू दिन्छौं भनेर गर्नुभएको हो भने त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।
त्यसो भए भेलाको उद्देश्य के त ?
पार्टीभित्रकै साथीहरूलाई पार्टीलाई अझ दरिलो बनाउन, अझ बलियो बनाउन, भेला गरेर पार्टीलाई सुझाव दिन्छौं भनेर आउनुभयो भने त्यसलाई नाइँ भन्नु हुँदैन । तर, त्यसैबाट अब यो कांग्रेस सानेपालाई हामी स्वीकार गर्दैनौँ, हामी अन्त जान्छौं भनियो भने त्यो दुर्भाग्यपूर्ण हो, त्यो हुनु हुँदैन ।
उसो भए तपाईं २९ साउनको भेलामा जानुहुन्न कि जानु हुन्न ?
भेलामा उपस्थित हुन सक्छु तर पार्टी फुटाउने लाइन भयो भने म पार्टी फुटाउने लाइनमा जान सक्दिनँ । यदि फुटिहाल्यो भने जहाँ चार तारे झण्डा र रुख हुन्छ, त्यहीँ हुन्छु ।
सभापति गगन थापाले तपाईंहरूको मागलाई सम्बोधन गर्दै कांग्रेसलाई एकताबद्ध गर्नको लागि गर्नुपर्ने के के हो ?
नेपाली कांग्रेसको पार्टी सभापति भनेको एउटा विद्यार्थी संगठनको अध्यक्ष होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा खम्बा हो । ठूलो धरोहर हो । पार्टीलाई बलियो बनाउनुपर्छ र देशलाई बलियो बनाउनुपर्छ ।
प्रजातान्त्रिक पद्धतिलाई बलियो बनाउनुपर्छ । कानुनी राज्यलाई बलियो बनाउनुपर्छ । समावेशीतालाई बलियो बनाउनुपर्छ । समानुपातिकलाई बलियो बनाउनुपर्छ । दलित, महिला, जनजाति, पिछडिएको वर्ग, मधेश सबैलाई बलियो बनाउनुपर्छ ।
पूरा संवाद माथिकाे भिडियाेमा
