`

‘गालामा मालिस गरिदिनु’

Nepal One HD १ भदौ २०८३ १२:५०
राजनीति

काठमाडौं। गृहमन्त्री सुधन गुरुङले ‘गालामा मालिस गरिदिन’ निर्देशन दिएका छन्। त्रिशूली नदीमा सरकारले बाँसको पुल निर्माण गर्न लागेको भन्दै भ्रम फैलाउनेलाई व्यंग्यात्मक शैलीमा गालामा थप्पड लगाउन निर्देशन देइका हुन्।

स्थानीयका गुनासा सुन्न गोरखा पुगेका गृहमन्त्री गुरुङ आइतबार सहिद लखन गाउँपालिका-४, ताक्लुङ पुगेका थिए। स्थानीयसँगको भेटघाटका क्रममा त्रिशूली नदीमा सरकारले बाँसको पुल निर्माण गर्न लागेको भन्ने चर्चा चलेको विषय उठेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल हाल्न लागेको कुरा गृहमन्त्रीसमक्ष राखेका थिए। त्यसको जवाफ दिँदै गुरुङले त्रिशूलीजस्तो नदीमा बाँसको पुल निर्माण गर्ने कुरा नै हास्यास्पद भएको बताए।

‘त्रिशूलीमा कसरी बाँसको पुल राख्ने ? २७ लाख पनि राज्यकै पैसा होला नि बाँसको पुल राख्नलाई। जो मान्छेले यहाँदेखि त्यहाँसम्म बाँसको पुल बन्छ भनेर भ्रम फैलायो, मलाई थाहा छैन त्यो को हो। साह्रै बुद्धु मान्छे रहेछ,’ उनले भने।

गुरुङले नेपाल सरकारले त्रिशूली नदीमा बाँसको पुल बनाउने कुरा सम्भव नभएको दाबी गर्दै त्यहाँ पक्की पुल निर्माण हुने बताए। उनले भने, ‘कहीँ बाँसको पनि पुल बन्छ ? यहाँदेखि त्यहाँसम्म, त्यही पनि त्रिशूलीमा बाँसको पुल बन्छ ! नेपाल सरकार त्यति लाटो छ र ? त्रिशूलीमा बाँसको पुल राख्छ ?’

उनले त्रिशूलीमा ठूलो लगानीमा पक्की पुल निर्माण हुने संकेत गर्दै भ्रम फैलाउने प्रवृत्तिको आलोचना गरे। ‘२७-२८ लाखको पुल बन्छ होला नि। जसले यो भ्रम फैलायो, अब नेक्स्ट टाइम जसले यस्तो भ्रम फैलाउँछ, गालामा यसो मालिस गरिदिए हुन्छ। सुमसुम्याइदिए हुन्छ, के कुरा गर्नुभएको भनेर,’ उनले व्यंग्य गर्दै भने।

गृहमन्त्री गुरुङले स्थानीय तहमा विकास निर्माणसम्बन्धी गलत सूचना र हल्ला फैलिँदा जनतामा अन्योल सिर्जना हुने भन्दै वास्तविकता बुझेर मात्रै धारणा बनाउन आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *