`

कप्तानगञ्जमा बाहिरबाट गोली चलेको दाबी झुटो, सुरक्षाकर्मीकै गोलीबाट तीनको मृत्यु

समिन बरुवाल ३ भदौ २०८३ ७:३१
अपराध

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा तीन युवाको ज्यान जाने गरी गोली चलाउने सुरक्षाकर्मी नै भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

घटनामा बाहिरी व्यक्तिबाट गोली चलेको हुन सक्ने आशंका गरिए पनि गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको समितिले त्यस्तो प्रमाण नभेटिएको जनाएको छ ।

कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी २० राउन्ड गोली चलाएको समितिको निष्कर्ष छ । ती गोलीकै क्रममा तीन युवाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।

समितिका एक सदस्यका अनुसार घटनामा बाहिरबाट गोली चलेको भन्ने चर्चा भए पनि छानबिनका क्रममा त्यसको पुष्टि हुने कुनै आधार भेटिएन ।

‘बाहिरबाट गोली चलेको भन्ने हल्ला थियो । हाम्रो छानबिनले त्यस्तो फेला पार्न सकेन । बरु, सुरक्षाकर्मीबाटै गोली प्रहार भएको देखियो,’ उनले भने ।

कप्तानगञ्जमा १० साउन राति चर्को आवाजमा डिजे बजाएको विषयमा विवाद सुरु भएको थियो । सामान्य विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी परिचालन भएको थियो । अवस्था थप तनावपूर्ण बनेपछि सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो ।

त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गोली चलाएको समितिले जनाएको छ । घटनामा स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । उनीसँगै घाइते भएका जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएको थियो ।

तीन जनाको मृत्यु भएपछि सुरक्षाकर्मीले गोली चलाउनुपर्ने अवस्था थियो कि थिएन भन्ने प्रश्न उठेको थियो । समितिले गोली चलाउने सुरक्षाकर्मीको भूमिकामाथि समेत अध्ययन गरेको छ ।

समितिले मानवीय क्षति हुने गरी गोली चलाउने सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । यद्यपि, कस्तो प्रकृतिको कारबाही गर्ने भन्ने स्पष्ट उल्लेख गरिएको छैन ।

समितिका सदस्यले भने, ‘मानवीय क्षति हुनेगरी गोली चलाउनेलाई कारबाही गर्नू भनेर सिफारिस गरेका छौँ ।’

समितिले गोली चलेको तथ्यमा मात्र छानबिन सीमित गरेको छैन । जिल्ला प्रहरी प्रमुख, फिल्डमा खटिएका सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीको भूमिकासमेत अध्ययन गरिएको छ । सुरक्षाकर्मी परिचालन गर्ने निर्णयदेखि फिल्ड कमान्ड र गोली चलाउने अवस्था कसरी सिर्जना भयो भन्नेसम्मका विषय प्रतिवेदनमा समेटिएको छ ।

यससँगै कप्तानगञ्ज घटनाको मुख्य प्रश्न अब गोली कसले चलायो भन्नेमा सीमित रहेन । सुरक्षाकर्मीले कुन परिस्थितिमा गोली चलाए, बल प्रयोग आवश्यक थियो कि थिएन र गोली चलाउने निर्णय कानुनसम्मत थियो कि थिएन भन्ने प्रश्न थप गम्भीर बनेको छ ।

सुनसरीसँगै सिरहाको गोलबजार घटनामा पनि बाहिरी व्यक्तिले गोली चलाएको प्रमाण भेटिएको छैन । गृह मन्त्रालयका सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले प्रहरीकै गोलीबाट गणेश यादवको मृत्यु भएको निष्कर्ष निकालेको छ ।

गोलबजारमा जम्मा नौ राउन्ड गोली चलेको पाइएको छ । त्यसमध्ये सात राउन्ड डमी र दुई राउन्ड पेस्तोलबाट चलेको समितिले जनाएको छ । पेस्तोलबाट चलेको एउटा गोली यादवलाई लागेको र अर्को गोली लागेर अर्का एक व्यक्ति घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।

गोलबजार घटनामा प्रहरी जवानलाई समेत गोली लागेको दाबी गरिएको थियो । तर, छानबिन समितिले उक्त दाबी पुष्टि नभएको जनाएको छ ।

दुवै घटनामा बाहिरी घुसपैठ वा अन्य पक्षबाट गोली चलेको आशंका सार्वजनिक रूपमा उठेको थियो । तर, दुवै छानबिन समितिको निष्कर्षले त्यसलाई पुष्टि गर्ने प्रमाण नभेटिएको देखाएको छ ।

अब सुरक्षाकर्मीले गोली चलाएको तथ्य स्थापित भएसँगै घटनाको अनुसन्धान र जिम्मेवारी निर्धारणको विषय थप महत्वपूर्ण बनेको छ ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन छानबिन समितिले भिड नियन्त्रणमा जाने सुरक्षाकर्मीलाई गैरघातक हतियार उपलब्ध गराउनुपर्ने, रबरको गोली प्रयोग गर्नुपर्ने तथा हतियार बोकेका सुरक्षाकर्मीलाई बडीवर्न क्यामेरा अनिवार्य गर्नुपर्ने सुझावसमेत दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *