प्रश्न सोध्ने प्रक्रिया नबुझ्दा संसदमा हर्क साम्पाङ जिल्लिएको त्यो क्षण
काठमाडौं । श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका सांसद हर्क साम्पाङ मंगलबार प्रतिनिधिसभा बैठकमा प्रश्न सोध्ने प्रक्रियाबारे जानकारी नहुँदा जिल्लिनुपरेको छ ।
मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस प्रमुख सचेतक बासना थापाले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई लिखित रूपमा बुझाएको प्रश्न वाचन गरेकी थिइन् । मन्त्री श्रेष्ठले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले उनलाई आसन ग्रहण गराए ।
त्यसपछि साम्पाङ जुरुक्क उठे । उनले ऊर्जामन्त्री श्रेष्ठलाई मौखिक प्रश्न सोध्न चाहे ।
सभामुख अर्यालले साम्पाङतर्फ हेर्दै सोधे, ‘नियमावलीको कुन नियमापत्ति हो माननीय सदस्य ?’
साम्पाङले आफूले ऊर्जामन्त्रीलाई मौखिक प्रश्न सोध्न चाहेको बताए । त्यसपछि सभामुख केहीबेर अलमलमा परे । उनले संसद् सचिवालयका कर्मचारीसँग समेत प्रक्रियाबारे राय लिए ।
त्यसपछि सभामुखले साम्पाङलाई आसन ग्रहण गर्न आग्रह गरे ।
‘माननीय सदस्य बस्नुहोस्,’ सभामुखले भने ।
साम्पाङ जिल्लिएझैँ मुस्कुराए । तर, सभामुखले फेरि सम्झाउँदै भने, ‘माननीय सदस्य बसौँ, म बुझाउन खोज्दैछु । बसौँ । आसन ग्रहण गरौँ ।’
त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे साम्पाङलाई जानकारी गराए ।
‘माननीय सदस्य, प्रतिनिधिसभा नियमावलीको परिच्छेद–८ मा प्रश्न सोध्न सकिने व्यवस्था गरिएको छ । सोहीअनुसार माननीय सदस्यहरूले सोध्नुभएको प्रश्न लिखित रूपमा आएको र मौखिक रूपमा सोधिन्छ । अहिले माननीय बासना थापाले लिखित रूपमा बुझाएको प्रश्न वाचन गर्नुभएको हो,’ सभामुखले स्पष्ट पारे ।
तर, साम्पाङले भने मौखिक प्रश्न सोध्न पाउनुपर्ने तर्क गरिरहे ।
साम्पाङको पछाडि बसेका श्रम संस्कृति पार्टीकै महासचिव आरेन राई त्यसक्रममा हाँसेको देखिन्थ्यो । अन्य सांसदहरू पनि साम्पाङतर्फ हेर्दै मुखामुख गरिरहेका थिए ।
सभामुखले फेरि भने, ‘बसौँ माननीय सदस्य, आसन ग्रहण गरौँ ।’
साम्पाङलाई प्रश्नोत्तरको प्रक्रिया बुझाउँदै सभामुखले मन्त्रीहरूले सदनमा आएर जवाफ दिने व्यवस्था नियमावलीअनुसार हुने बताए ।
‘माननीय सदस्यहरूले परिच्छेद–८ अनुसारको प्रश्न सोधिएको अवस्थामा मन्त्रीहरूले सदनमा आएर जवाफ दिने गरिएको हो,’ सभामुखले भने ।
उनले प्रश्नोत्तरको प्रक्रियाबारे थप स्पष्ट पार्न कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल हुने पनि बताए ।
संसदीय दलका नेतासमेत रहेका साम्पाङले संसद्को नियमावलीमा रहेको प्रश्नोत्तरको सामान्य प्रक्रियासमेत नबुझेको देखिएपछि मंगलबारको बैठकमा उनी केहीबेर असहज अवस्थामा परेका थिए ।
सामान्यतया संसद्मा सरकारका मन्त्रीसँग प्रश्नोत्तर गर्नुअघि प्रश्न लिखित रूपमा दर्ता हुने र तोकिएको प्रक्रियाअनुसार त्यसलाई सदनमा प्रस्तुत गरिने व्यवस्था छ ।
साम्पाङ भने उक्त प्रक्रियाबारे अनभिज्ञ देखिँदै बैठकमै मौखिक प्रश्न गर्न खोजेपछि सभामुखबाटै पटक–पटक आसन ग्रहण गर्न निर्देशन पाएका थिए ।
