तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
बारा। बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ सिमरामा मृत अवस्थामा भेटिएकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले बालिकालाई चकलेटको प्रलोभन देखाएर फकाई घटनास्थलमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको जनाएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा बालिका मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत थप प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोलीसमेत परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ।
गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजेदेखि घरबाट हराएकी थिइन्। परिवारले खोजी गरिरहे पनि उनी भेटिएकी थिइनन्। पछि प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा भक्तिनगरस्थित खाली कोठामा उनको शव फेला पारेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक जितपुरसिमरा–२ बस्ने करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने प्रलोभन देखाएर फकाई घटनास्थलमा लगेका थिए। त्यहाँ बालिकामाथि जबर्जस्ती करणी गरी हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासहित म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ। उनीहरूमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको सम्पूर्ण कारण र परिस्थितिबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ। घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गर्नुका साथै तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अघि बढाइएको छ।
मृतक बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पोस्टमार्टम तथा अनुसन्धानबाट घटनाका थप तथ्य खुल्ने प्रहरीले जनाएको छ।
