`

सुनिताले फिर्ता लिइन् गोविन्दाविरुद्धको सम्बन्धविच्छेद मुद्दा

Nepal One HD ४ भदौ २०८३ ११:३४
चलचित्र

काठमाडौं। बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीच लामो समयदेखि चल्दै आएको वैवाहिक विवाद तत्कालका लागि टुङ्गिएको देखिएको छ। सुनीताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएकी छन्।

बुधबार सुनिता छोरा यशवर्धन आहुजासँग मुम्बईको पारिवारिक अदालत पुगेकी थिइन्। अदालतको प्रक्रिया पूरा गरेर बाहिरिएपछि गोविन्दाका व्यवस्थापक शशि रञ्जनले सुनिताले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएको जानकारी दिएका हुन्।

उनका अनुसार अहिले गोविन्दा र सुनिताबीचको अवस्था सामान्य बन्दै गएको छ। पछिल्ला केही वर्ष दम्पतीका लागि सहज नभए पनि अहिले परिस्थिति सुधार हुने अपेक्षा गरिएको उनले बताएका छन्।

अदालतबाहिर सुनीता र उनका छोरा यशवर्धनको भिडियोसमेत सार्वजनिक भएको छ। सञ्चारकर्मीले अदालतमा भएको विषयबारे प्रश्न गर्दा यशवर्धनले कुनै समस्या नभएको भन्दै आफूहरूलाई जान दिन आग्रह गरेका थिए।

यशवर्धनले आमालाई सञ्चारकर्मीको भीडबाट जोगाउँदै गाडीसम्म पुर्‍याएका थिए। गाडीमा बस्नुअघि सुनीताले आफूहरू जन्मदिन मनाउन अदालत आएको जस्तो प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि उनी छोरा यशवर्धनसँगै त्यहाँबाट बाहिरिएकी थिइन्।

सुनीताले सन् २०२४ को डिसेम्बरमा मुम्बईको बान्द्रा पारिवारिक अदालतमा गोविन्दाविरुद्ध सम्बन्धविच्छेदको निवेदन दायर गरेकी थिइन्। यद्यपि उक्त विषय तत्काल सार्वजनिक भएको थिएन। पछि सञ्चारमाध्यममार्फत यो कुरा बाहिरिएपछि दुवैको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न चर्चा सुरु भएको थियो।

सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएसँगै दुवैबीचको वैवाहिक सम्बन्ध अहिले पनि कायम रहेको देखिएको छ। तर उनीहरूबीचको सम्बन्ध आगामी दिनमा कसरी अघि बढ्छ भन्नेबारे दुवै पक्षबाट विस्तृत धारणा सार्वजनिक भएको छैन।

पछिल्लो समय गोविन्दा आफ्नो आगामी फिल्म ‘रूपा’की सहअभिनेत्री कोमल रानी स्वर्णकारसँग सार्वजनिक रूपमा देखिएपछि दम्पतीको सम्बन्धबारे पुनः चर्चा भएको थियो।

गोविन्दासँग कोमल देखिएपछि सुनीताले सार्वजनिक रूपमा असन्तुष्टि जनाएकी थिइन्। उनले गोविन्दासँग देखिएकी अभिनेत्रीको उमेर र पहिरनलाई लिएर समेत टिप्पणी गरेकी थिइन्।

सुनीताको उक्त प्रतिक्रियापछि गोविन्दाले पनि असन्तुष्टि व्यक्त गरेका थिए। उनले व्यक्तिगत विषयमा मर्यादा कायम राख्न आग्रह गर्दै आफू र सहअभिनेत्रीलाई लिएर गरिएका टिप्पणीप्रति आपत्ति जनाएका थिए।

यस घटनाले गोविन्दा र सुनीताबीचको सम्बन्धमा पुनः समस्या देखिएको अनुमानलाई बल पुगेको थियो। तर अहिले सम्बन्धविच्छेदको निवेदन फिर्ता भएपछि विवाद समाधानतर्फ अघि बढेको संकेत देखिएको छ।

गोविन्दा र सुनीताले सन् १९८७ मा विवाह गरेका थिए। त्यसबेला गोविन्दा बलिउडमा स्थापित अभिनेता बनिसकेका थिए। दुवैले आफ्नो वैवाहिक सम्बन्धलाई केही समय सार्वजनिक गरेका थिएनन्।

पछि छोरी टिना आहुजाको जन्मपछि उनीहरूले विवाहबारे सार्वजनिक रूपमा जानकारी दिएका थिए। उनीहरूका दुई सन्तान छन्—छोरी टिना र छोरा यशवर्धन।

सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएपछि गोविन्दा र सुनीताको वैवाहिक जीवनमा देखिएको लामो समयको विवाद तत्कालका लागि साम्य भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *