`

सुगौली सन्धीपछि गम्भीर संकटमा छ : प्रचण्ड [भिडियो]

Nepal One HD ७ भदौ २०८३ १५:३८
नेपाली कम्युनिष्ट पार्टी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धिपछि कै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन्। उनले यस्तो संकटबाट देशलाई निकास दिन कम्युनिस्ट शक्तिहरूबीच एकता, सहकार्य र पुनर्गठन आवश्यक रहेको बताएका हुन्।

आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पछिल्लो परिस्थितिले राष्ट्रिय स्वाधीनता, जनताको अधिकार र विकास तथा समृद्धिको आकांक्षामाथि गम्भीर चुनौती खडा गरेको बताए। उनले वर्तमान संकटको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा तथा वैदेशिक हस्तक्षेपविरुद्धको संघर्षलाई अपेक्षित प्राथमिकता दिन नसक्दा अहिलेको असाधारण परिस्थिति सिर्जना भएको प्रचण्डको स्वीकारोक्ति थियो।

‘अहिले देश साँच्चै संकटमा छ। राष्ट्रिय स्वाधीनताका हिसाबले सुगौली सन्धिपछि सायद यति भयानक संकट कहिल्यै देखिएको थिएन,’ उनले भने, ‘यो संकटबाट पार पाउन र जनताको विकास तथा समृद्धिको आकांक्षा पूरा गर्न कम्युनिस्ट आन्दोलनको एकता नै मुख्य साँचो हो।’

प्रचण्डले विगतका कमजोरीका लागि एक–अर्कालाई दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्दै कम्युनिस्ट शक्तिहरूले सामूहिक रूपमा आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै नयाँ ढंगले अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले राष्ट्रिय स्वाधीनता र देशभक्तिपूर्ण आन्दोलनको कम्युनिस्ट आन्दोलनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरे। राष्ट्रिय हितका सवालमा कम्युनिस्ट शक्तिहरू एक ठाउँमा उभिनुपर्ने भन्दै उनले कार्यक्रममा सहभागी विभिन्न दल तथा समूहका प्रतिनिधिहरूलाई साझा निकासका लागि गम्भीर चिन्तन र मनन गर्न आह्वान गरे।

प्रचण्डले वर्तमान चुनौतीलाई केवल कुनै एक राजनीतिक दलको समस्या नभई समग्र देश र कम्युनिस्ट आन्दोलनसँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताए। राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र समृद्धिका साझा मुद्दामा सहकार्य गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ आधारमा पुनर्गठन गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *