‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेँ’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेता-कार्यकर्तालाई विगतको हिसाबकिताबमा अल्झिनुभन्दा अबको ३५ वर्षका लागि योजना बनाउन निर्देशन दिएका छन् ।
आइतबार पार्टीको ‘नीति, संगठन र नेतृत्व’ विषयक कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले विगतका दल र नेतृत्वलाई गाली गरेर समय खेर नफाल्न आग्रह गरे ।
‘अब बितेका ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथीहरू, अबको ३५ वर्षको योजना ल्याउनुस्,’ उनले भने ।
लामिछानेले विगतमा जे–जति काम भए, त्यसको समीक्षा गर्दै बस्नुभन्दा अब आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । केही गर्न नसकिए पनि कम्तीमा नराम्रो काम नगर्न सकिने उनको भनाइ थियो ।
‘बितेको ३५ वर्षका लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ । जति सके गरे, धन्यवाद,’ उनले भने ।
अब देशलाई आगामी ३५ वर्षमा कहाँ पुर्याउने भन्ने जिम्मेवारी रास्वपाको काँधमा आएको लामिछानेले बताए । जनताले रास्वपालाई ठूलो विश्वास गरेको भन्दै त्यो विश्वास कमजोर हुने कुनै गतिविधि नगर्न उनले नेता–कार्यकर्तालाई सचेत गराए ।
लामिछानेले पार्टीका नेता–कार्यकर्तालाई लोकतन्त्रविरोधी गतिविधि र अभिव्यक्तिबाट टाढा रहनसमेत निर्देशन दिए ।
‘हाम्रा अभिव्यक्ति, क्रियाकलापले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्,’ उनले भने, ‘कहिलेकाहीँ आफ्नै परिवारका सदस्यलाई पनि सम्झाउनुपर्ने रहेछ । यो मेरो असन्तुष्टि होइन, चिन्ता हो ।’
उनले अहिले सरकार मात्र नभई प्रतिपक्षसमेत बलियो रहेको भन्दै पार्टीका गतिविधि जिम्मेवार र संयमित हुनुपर्ने बताए ।
लामिछानेले आफूले विगतमा प्रधानमन्त्री बन्ने अवसर पाए पनि त्यसलाई अस्वीकार गरेको प्रसंग पनि सुनाए ।
२१ सिटको दलको नेतृत्व गरिरहेका बेला आफ्नो हस्ताक्षर मात्र बाँकी राखेर प्रधानमन्त्री बन्ने प्रस्ताव आएको उनले दाबी गरे । तर, तत्काल प्रधानमन्त्री बन्नुभन्दा आन्दोलन, जनताको अपेक्षा र नयाँ पुस्ताको आशालाई प्राथमिकता दिएको उनको भनाइ छ ।
‘म २१ सिटको दलको नेताको रूपमा प्रधानमन्त्री बन्नका निम्ति मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो,’ उनले भने, ‘भइदिउँ न त भन्दा त्यति धेरै गाह्रो पनि थिएन ।’
त्यतिबेला प्रधानमन्त्री बनेको भए केही महिनामात्रै पदमा रहन सक्ने र सिंहदरबारमा आफ्नो एउटा तस्वीर थपिन सक्ने उनले बताए ।
‘म भइ नै हालेको भए दुई–चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला । धेरै नै भए सिंहदरबारमा एउटा तस्वीरसम्म टाँसिन्थ्यो होला,’ उनले भने ।
तर, देशले नयाँ राजनीतिक परिवर्तन र युवाको नेतृत्व खोजिरहेका बेला आफूले व्यक्तिगत अवसरभन्दा त्यसलाई प्राथमिकता दिएको लामिछानेले बताए ।
‘म यहाँ गर्वका साथ भन्न सक्छु, हाँसीहाँसी किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हो,’ उनले भने, ‘मैले यसलाई असाध्यै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराएको हो ।’
उनले अब विगतमा अरूलाई दोष लगाउनेभन्दा आफूले गर्नुपर्ने काममा ध्यान दिनुपर्ने बताए ।
‘हिजो दोष लगाउने कयौँ नेता थिए । आज कसलाई देखाउने ?’ लामिछानेले प्रश्न गरे ।
