रविमा देखिएको राजनीतिक परिपक्वता
काठमाडौं। राजनीतिमा नयाँ आउँदा पुरानालाई गाली गर्न खासै गाह्रो हुँदैन। झन् पुराना दलका कमजोरीको फेहरिस्त हातमा भएपछि आफूलाई नयाँ, सफा र अरूभन्दा फरक देखाउन सजिलै सकिन्छ।
रवि लामिछानेले पनि राजनीतिमा पाइला राख्दा यही अस्त्र राम्रैसँग चलाए। तर समयले सबैलाई एउटै ठाउँमा ल्याइदिन्छ।
हिजो प्रश्न गर्ने रवि अहिले आफैँ प्रश्नको घेरामा छन्। हिजो कांग्रेस-एमाले र माओवादीको ३५ वर्षको हिसाब खोज्ने रविको पार्टी आज सरकारको नेतृत्वमा छ। अर्थात्, अब अरूको कमजोरी देखाएर मात्रै आफू उम्किने ठाउँ छैन।
सायद यही यथार्थ रविले पनि बुझ्न थालेका छन्।
पछिल्ला दिनमा उनको बोली र व्यवहारमा देखिएको संयमले त्यही संकेत गर्छ। विशेषगरी मधेशमा तनाव बढ्दै जाँदा उनले देखाएको सक्रियता पुरानो रविको शैलीभन्दा केही फरक देखियो।
सडक तताउने होइन, संवाद खोज्ने। आरोप लगाउने होइन, पक्षहरूलाई एउटै टेबलमा ल्याउने। यही क्रममा सर्वदलीय छलफलदेखि राष्ट्रपतिसँगको परामर्श र विभिन्न धार्मिक समुदायका अगुवासँग संवादसम्म उनले चासो देखाए।
हिन्दु र मुस्लिम धर्मगुरुलाई एउटै ठाउँमा राखेर सद्भावको सन्देश दिन खोज्नु पनि त्यसैको एउटा उदाहरण हो।
राजनीतिमा संकट पर्दा नेता दुई किसिमका हुन्छन्–एकथरी आगोमा घिउ थप्छन्, अर्काथरी पानी खोज्छन्। रवि यसपटक दोस्रो कित्तातिर देखिए।
यो सानो कुरा होइन।
रविको पछिल्लो राजनीतिक अभिव्यक्तिको सबैभन्दा रोचक पक्ष पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालामा आएको कुरा हो।
उनले आफ्नै नेता कार्यकर्तालाई भने–‘पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्नू, अबको ३५ वर्षमा देश कस्तो बनाउने भन्ने योजना बनाउनू।’
हिजोसम्म ३५ वर्षको हिसाब खोज्ने रविले आज अचानक हिसाब माग्न किन छाडे ? प्रश्न भने उठेकै छ।
उत्तर पनि उनैले दिएका छन्।
उनले भने, ‘हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए । कयौँ नेताहरू पनि थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषैदोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन सक्थ्यौँ । आज कसलाई दोष देखाउने ?’
राजनीतिक भाषामा भन्नुपर्दा यो सत्ता प्रवेशपछि आएको चेत हो।
प्रतिपक्षमा हुँदा ‘यिनले गरेनन्’ भन्न सजिलो हुन्छ। सरकारमा पुगेपछि ‘मैले के गरेँ ?’ भन्ने प्रश्नको जवाफ दिनुपर्छ। रास्वपा अहिले त्यही ठाउँमा पुगेको छ।
त्यसैले पुरानाको असफलताको कथा सुनाएर मात्रै नयाँको सफलता प्रमाणित हुँदैन भन्ने कुरा रविले बुझेको देखिन्छ।
रविको अर्को भनाइ पनि ध्यान दिन लायक छ। उनले विगतमा पुराना राजनीतिक दलले गरेका राम्रा कामको समेत सम्मान गर्नुपर्ने बताएका छन्।
नयाँ शक्ति आएपछि पुराना सबै खराब र आफूले गरेका सबै ठीक भन्ने रोग नेपाली राजनीतिमा नयाँ होइन। तर आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपाका लागि यो झन् खतरनाक हुन सक्थ्यो।
रविले कम्तीमा त्यो गल्ती नगर्ने संकेत गरेका छन्।
किनकि इतिहास मेटेर नयाँ राजनीति बन्दैन। पुरानाले गरेका राम्रा काम स्वीकार्न सक्नु पनि राजनीतिक संस्कार हो।
हुन त, हिजो उनी प्रश्न गर्थे। आज जनताले उनलाई प्रश्न गर्नेछन्।
हिजो अरूको कमजोरी देखाएर ताली पाउन सकिन्थ्यो। आज आफ्नै सरकारको काम देखाएर विश्वास जित्नुपर्छ।
हिजो ‘पुरानाले देश बिगारे’ भन्न पुग्थ्यो। आज ‘तपाईंहरूले के सुधार गर्नुभयो ?’ भन्ने प्रश्नको उत्तर दिनुपर्छ। यहीँबाट रविको असली परीक्षा सुरु हुन्छ।
उनले पार्टीका नेता-कार्यकर्तालाई लोकतन्त्रविरोधी र अराजक गतिविधि नगर्न दिएको निर्देशन पनि यही सन्दर्भमा अर्थपूर्ण छ। नयाँ दलको नाममा भीड जम्मा गर्ने, उत्तेजना फैलाउने र त्यसैलाई राजनीति ठान्ने हो भने रास्वपा पनि पुरानै रोगको नयाँ बिरामी बन्नेछ।
त्यसबाट बच्न रविले आफ्नै कार्यकर्तालाई दिएको सन्देश सकारात्मक छ।
सरकारको नेतृत्व वालेन्द्र शाह (बालेन)ले गरिरहेका छन्। तर सरकार सञ्चालनमा रवि पूर्ण सन्तुष्ट छैनन् भन्ने संकेतहरू बेलाबेला देखिन्छन्। यही असहजता आगामी दिनमा उनको अर्को परीक्षा बन्न सक्छ।
आफूले चाहेजस्तो भएन भन्दै आवेशमा जाने कि संस्थागत ढंगले आफ्नो भूमिका खोज्ने ? आफ्नै सरकारको कमजोरी देखिए चुप लाग्ने कि सुधारका लागि दबाब दिने ? यिनै प्रश्नको जवाफले रवि कति परिपक्व भए भन्ने देखाउनेछ। किनकि सत्ता भनेको आफूले चाहेको मात्र गराउने ठाउँ होइन।
रविमा आएको यो परिवर्तनलाई तत्कालै ‘पूर्ण परिपक्वता’को प्रमाणपत्र दिन हतार गर्नु हुँदैन।
राजनीतिमा बोली बदल्न सजिलो हुन्छ, व्यवहार बदल्न गाह्रो हुन्छ। एउटा कार्यशालामा ३५ वर्षको योजना बनाउनू भन्न सजिलो छ, ३५ वर्षको बाटो देखाउने नीति बनाउन कठिन हुन्छ।
त्यसैले रविको अहिलेको परिपक्वता भाषणबाट व्यवहारमा पुग्न बाँकी छ। तर संकेत भने राम्रा छन्। हिजोको रवि पुरानाको हिसाब खोज्थे। अहिलेको रवि अबको ३५ वर्षको योजना खोजिरहेका छन्।
हिजो दोष देखाएर आफू अग्लो देखाउने राजनीति थियो। अहिले जिम्मेवारी स्वीकार्ने कुरा गर्न थालेका छन्।
हिजो भिडलाई बोलाउने रवि थिए। अहिले संवादको टेबल खोज्ने रवि देखिँदैछन्। यही नै रविमा देखिएको पछिल्लो परिपक्वता हो।
अब यो परिपक्वता कति दिन टिक्छ भन्नेचाहिँ हेर्न बाँकी छ। नत्र जनताले उनको हिसाब पनि अवश्य माग्नेछन्।
