`

आईजीपीविरुद्ध फेरि खनिए रास्वपा सांसद सुनार

Nepal One HD ४ भदौ २०८३ १४:०७
अर्थ समाचार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध यसअघि लगाएका आरोप र उठाएका प्रश्नमा आफू अडिग रहेको बताएका छन् ।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै सुनारले प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भएको आशंका गर्दै त्यससम्बन्धी कागजात मागिएको र त्यसको अवस्था स्पष्ट पार्नुपर्ने बताए । उनले प्रहरी प्रधान कार्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोपसमेत लगाए ।

सुनारले भने, ‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत–साधन खरिदमा भएका बदमासीका बारेमा डकुमेन्ट मागेका थियौँ । त्यो आयो कि आएन ? फेरि यही बीचमा प्रहरीले करोडौँको टेन्डर आह्वान गरेको छ ।’

उनले प्रहरी प्रधान कार्यालयमा बिचौलियाको प्रभाव रहेको दाबी गर्दै यसअघि आफूले उठाएको विषयबाट पछि नहट्ने बताए । ‘अस्ति गरेको प्रश्नमा म अडिग छु, मजबुत छु,’ उनले भने ।

यसअघि साउन २७ गते बसेको लेखा समितिको बैठकमा पनि सुनारले आईजीपी कार्कीको घरबाट ठूलो रकम चोरी भएको विषय उठाउँदै त्यसबारे प्रहरीको अनुसन्धानमाथि प्रश्न गरेका थिए ।

उनले आईजीपीकै घरमा चोरी भएको अवस्थामा सर्वसाधारणको सुरक्षाको अवस्था के हुने भन्ने प्रश्न गरेका थिए । उक्त अभिव्यक्तिपछि उनको आलोचना भएको थियो ।

बिहीबारको बैठकमा पनि सुनारले आफूले उठाएको विषयमा कसैलाई मानमर्दन भएको लागे अदालत जान सक्ने बताए । उनले आफू कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको भन्दै संसदीय समितिमा आरोप–प्रत्यारोपको शैलीमा प्रस्तुत हुन नहुने धारणा राखे ।

सुनारको आरोपपछि आईजीपी कार्कीले यसअघि नै प्रहरीमाथि लगाइएका आरोपको प्रतिवाद गरिसकेका छन् । उनले प्रहरी न्यूनतम स्रोत–साधनमा काम गरिरहेको उल्लेख गर्दै आफूमाथि लगाइएका आरोपमा सत्यता नरहेको बताएका थिए ।

कार्कीले प्रहरीलाई ‘घिसार्छु’ भन्ने किसिमको अभिव्यक्तिले प्रहरी संगठन र त्यसको मनोबलमाथि असर पार्ने धारणा व्यक्त गरेका थिए ।

सांसद सुनारको अभिव्यक्तिलाई लिएर रास्वपा सभापति रवि लामिछानेले समेत संसदीय दलको बैठकमा सांसदहरूलाई जिम्मेवार भएर प्रस्तुत हुन निर्देशन दिएका थिए ।

त्यसअघि गृहमन्त्री सुधन गुरुङले पनि संसदीय समितिमा प्रहरी प्रमुख तथा गृह मन्त्रालयका अधिकारीमाथि उजुरीकै आधारमा गम्भीर आरोप लगाउने र चरित्रहत्या गर्ने शैली उचित नभएको बताएका थिए ।

गुरुङले आफ्नो अनुपस्थितिमा गृह मन्त्रालयका सचिव तथा प्रहरी प्रमुखसँग समितिमा भएको व्यवहारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका थिए ।

प्रहरी तथा निर्वाचन प्रहरीका लागि खरिद गरिएका पोसाक, जुत्ता, मोजालगायत सामग्रीमा अनियमितता भएको भन्दै परेको उजुरीमाथि लेखा समितिमा छलफल भइरहेका बेला सुनार र प्रहरी नेतृत्वबीच विवाद चर्किएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *