`

रसुवाको टिमुरे बाढीले तहसनहस, उद्धारको पर्खाइमा स्थानीय

Nepal One HD १० भदौ २०८३ ११:३१
बिशेष
काठमाडौं। तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा र नुवाकोटमा ठूलो क्षति पुर्‍याएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रका बस्तीमा ठूलो क्षति पुर्‍याएको हो।

बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे बजारमा ठूलो क्षति पुर्‍याएको स्थानीय जनप्रतिनिधिले बताएका छन्। मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन।

गोसाइँकुण्ड गाउँपालिका–२ का वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बाढी आएपछि ठूलो संख्यामा स्थानीय सुरक्षित स्थानको खोजी गर्दै डाँडातर्फ पुगेका छन्। उनीहरू अहिले उद्धारको पर्खाइमा छन्।

घलेका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाजसहित अचानक बाढी आएको थियो। केही बुझ्न नपाउँदै बाढीले टिमुरे बजारमा रहेका संरचना बगाएको उनले बताए।

‘टिमुरे बजारमा केही पनि बाँकी छैन। बाढीले सबै तहसनहस बनाएको छ। कति घर बगे, कति मानिस हराए भन्ने पनि थाहा छैन,’ घलेले बताए।

उनका अनुसार टिमुरेमा सयभन्दा बढी घरधुरी रहेको अनुमान छ। बाढीको वेग र माथिबाट आएको ठूलो आवाजका कारण धेरै मानिसले भागेर ज्यान जोगाएका छन्।

बाढीबाट जोगिएका स्थानीय डाँडामा गएर बसेका छन्। खाद्यान्न तथा अन्य आवश्यक सामग्रीको अभाव रहेको भन्दै उनीहरूले तत्काल उद्धार र राहतको माग गरेका छन्।

‘साना केटाकेटीलाई के खुवाउने, कसरी जोगाउने केही छैन। बगेको पानी खाएर बसेका छौँ,’ घलेले भने।

उनका अनुसार उद्धारका लागि माथिल्लो क्षेत्रमा हेलिकप्टर देखिए पनि प्रभावित नागरिकसम्म अझै पुग्न सकेको छैन।

बाढीबाट टिमुरेसहित भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी आए पनि कति घर बगे, कति मानिस प्रभावित वा बेपत्ता छन् भन्ने विवरण यकिन हुन सकेको छैन। उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर विवरण संकलन गरेपछि मात्रै क्षतिको वास्तविक अवस्था खुल्नेछ।

बाढीपछि रसुवाको चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी आसपासको क्षेत्रसमेत प्रभावित भएको छ। प्रशासन तथा सुरक्षा निकायले उद्धार र राहतका लागि आवश्यक तयारी अघि बढाएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *