भोटेकोशी बाढीलाई तत्काल राष्ट्रिय विपद् घोषणा गर्न एमालेको माग
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशीसहितका क्षेत्रमा आएको भीषण बाढीबाट उत्पन्न संकटलाई तत्काल राष्ट्रिय विपद् घोषणा गरेर उद्धार र राहतलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले बाढीका कारण ८ सयभन्दा बढी नागरिक बेपत्ता भएको र २ सयभन्दा बढी अझै उद्धारको पर्खाइमा रहेको जानकारी गराए ।
उनका अनुसार तिब्बतको जिबुङ क्षेत्रमा हिमताल विस्फोटपछि भोटेकोशी हुँदै आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । नुवाकोटमा तीन र धादिङमा चार जनाको शव फेला परिसकेको भन्दै उनले मानवीय क्षतिको संख्या अझै बढ्न सक्ने बताए ।
महरले सरकारलाई तत्काल राहत, उद्धार तथा घाइतेको निःशुल्क उपचार प्रभावकारी बनाउन आग्रह गरे । साथै, बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी सार्वजनिक गर्न र चीनबाट बाढीबारे कुनै पूर्वसूचना प्राप्त भएको थियो वा थिएन भन्ने विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनको माग छ ।
उनले उद्धार तथा राहतमा राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज र विभिन्न संघसंस्थालाई समेत परिचालन गर्न राष्ट्रिय आह्वान गर्नुपर्ने बताए ।
बाढीपीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुका साथै अवरुद्ध सडक तथा जनजीवन सामान्य बनाउन पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल थाल्नुपर्ने महरको भनाइ छ ।
‘यस्तो संकटमा सत्ता पक्ष र प्रतिपक्ष भनेर बस्ने होइन, सिंगो देश एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।
एमालेले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि आफ्ना कार्यकर्ता परिचालन गरिसकेको जानकारी दिँदै महरले पार्टीको आकस्मिक बैठकले थप राहत तथा उद्धारसम्बन्धी निर्णय गर्ने बताए ।
