भोटेकोशी बाढीमा १६ जनाको मृत्यु, ३६ घाइते
काठमाडौं। तिब्बततर्फबाट रसुवा हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु भएको छ ।
बाढीमा ३६ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पौने ४ बजे सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रदेश प्रहरीका अनुसार मृतकमध्ये रसुवामा १, नुवाकोटमा ९ र धादिङमा ६ जना छन् । मृतक १६ जनामध्ये ७ महिला र ८ पुरुषको पहिचान खुलेको छ भने एक जनाको सनाखत हुन बाँकी छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका घाइतेमध्ये रसुवाबाट १३, नुवाकोटबाट १९ र धादिङबाट ३ जना छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थातर्फ पठाइएको प्रहरीले जनाएको छ ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएको छ ।
बाढीका कारण सडक, पुल, घर तथा अन्य पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार र राहतको काम चुनौतीपूर्ण बनेको छ।
