भोटेकोशी बाढीप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त, उद्धारमा एकजुट हुन अपिल
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्मा परेकाहरूको उद्धार तथा राहतका लागि सबै पक्षलाई एकजुट हुन अपिल गरेका छन्।
देशवासीका नाममा बुधबार जारी सन्देशमा पूर्वराजा शाहले चीनको स्वशासित प्रदेश तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी र त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।
बाढीबाट बजार, बस्ती, बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा अपार क्षति पुगेको भन्दै उनले घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
भोटेकोशीमा आएको बाढीले नुवाकोटको त्रिशूली बजार आसपासका करिब ६० घर तथा दुईवटा पक्की पुलसमेत बगाएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ भने मानवीय क्षतिको विवरणसमेत बढ्दै गएको छ।
पूर्वराजा शाहले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकको तत्काल खोजी कार्य तीव्र पार्न आवश्यक रहेको बताएका छन्।
उनले विपद्को यस दुःखद् घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।
सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आमनागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपद्मा परेकाहरूको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनुपर्ने उनको भनाइ छ।
‘विपद्मा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन’ आग्रह गर्दै उनले यस्तो संकटको सामना सामूहिक प्रयासबाट मात्र प्रभावकारी रूपमा गर्न सकिने सन्देश दिएका छन्।
भोटेकोशीको बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई तीव्र बनाएको छ। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन हुनुका साथै हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ। प्रभावित रसुवा, नुवाकोट र धादिङलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ।
पूर्वराजा शाहले नेपालसँग सीमा जोडिएको छिमेकी देशमा आएको प्राकृतिक विपद्ले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यस्ता विपद् न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा द्विपक्षीय तथा संयुक्त प्रयास प्रभावकारी हुन सक्ने बताएका छन्।
उनले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय तथा छिमेकी मुलुकसँगको सहकार्यलाई समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
