`

भोटेकोशी बाढीः गोरखाबाट ५५ जना सम्पर्कविहीन

Nepal One HD ११ भदौ २०८३ १८:४५
समाचार

गोरखा – भोटेकोशी बाढीमा परी गोरखाका जिल्लाका ५५ व्यक्ति सम्पर्कविहीन भएका छन् ।

पालुङटार नगरपालिकाका ३१, सहिदलखनका सात, धार्चेका चार, भीमसेन थापाका तीन, बारपाक सुलिकोटका ६ र सिरानचोकका दुई र आरुघाट गाउँपालिकाका तीनजना बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

बाढीमा परेर पालुङ्टार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रुहरु बुधबार बिहानदेखि सम्पर्कविहीन भएको पालिकाकी उपप्रमुख बन्दना पाण्डेले बताउनुभयो । ग २ ख ११५२ नम्बरको बसमा सवार ३७ यात्रुमध्ये ६ जना झ्यालबाट हामफालेर सुरक्षित रहेको र बाँकीको अवस्था भने अज्ञात रहेको उहाँले जानकारी दिनुभयो ।

रसुवाको बाढीमा परेर सहिदलखन गाउँपालिकाका सात जना सम्पर्कविहीन बनेको पालिका अध्यक्ष रमेश थापा मगरले बताउनुभयो । “बाढी प्रभावित क्षेत्रमा डोजर अपरेटरका रुपमा कार्यरत पालिकाको वडा नं १ का एक, वडा नं ३ का एकजना ट्रक डाइभर, विद्युत्को काम गर्ने वडा नं ६ का एक, वडा नं ७ घर भएका एकजना होटल व्यवसायी र अर्को एकजना ट्रेकिङ व्यवसायी र वडा नं ८ घर भएका दुईजना ट्रेकिङ व्यवसायीहरु सम्पर्कविहीन छन्”, थापाले भन्नुभयो ।

धार्चे गाउँपालिका–४ लाप्राकका चारजना पनि रसुवा बाढीमा परेर बेपत्ता भएका पालिका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभएको छ । लाप्राक घरभई रसुवामा सशस्त्र प्रहरीमा कार्यरत एकजना र अलपाइन इको ट्रेकिङ कम्पनीमा कार्यरत तीनजना पर्यटक सहयोगी बेपत्ता भएका गुरुङले जानकारी दिनुभयो ।

भीमसेन थापा गाउँपालिकाका तीनजना नागरिक रसुवा बाढीमा परेर सम्पर्कविहीन बनेको अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिनुभयो ।

भीमसेन थापा वडा नं ३ घर भई रसुवामा सरकारी कर्मचारीका रुपमा कार्यरत एक र वडा नं ६ र १ का एक÷एक जना ट्रेकिङ व्यवसायीको अवस्था अज्ञात रहेको उहाँको भनाइ छ ।

बारपाकसुलिकोट गाउँपालिकाका ६ जना बाढीमा बेपत्ता भएका पालिका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । बारपाकसुलिकोट–४ का तीनजना रसुवा बाढीमा बेपत्ता भएका छन् । उनीहरुमध्ये एकजना नेपाली सेना र अन्य दुईजना पर्यटन मजदुर रहेका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं ३ र ६ का एक÷एक जना पर्यटन मजदुर बेपत्ता भएका छन् । “वडा नं ५ को पनि एकजना बेपत्ता छ भन्ने खबर आएको छ । उहाँ अपर त्रिशूली हाइड्रोपावरमा काम कार्यरत्त थिए”, उहाँले भन्नुभयो ।

यस्तै, सिरानचोक र आरुघाट गाउँपालिकाका दुई–दुई जना नागरिकहरु रसुवा बाढीपछि सम्पर्कबिहीन बनेका पालिकाका प्रमुखहरुले जानकारी दिनुभयो ।

सिरानचोकको वडा नं ८ र वडा नं ५ का १/१ जना सम्पर्कविहीन छन् । उनीहरु रसुवागढी हाइड्रोपावरमा कार्यरत रहेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताउनुभयो । “आरुघाटको वडा नं ९ का एकजना ड्राइभरका रुपमा पर्यटक लिन स्याफ्रुबेँसी पुगेका एकजना सम्पर्कविहीन छन्”, पालिका अध्यक्ष राजु गुरुङले भन्नुभयो, “अर्को वडा नं ३ का एकजना रसुवामा मजदुर काम गर्ने पनि बेपत्ता छ भन्ने खबर आएको छ । हामीले उनीहरुको अवस्थाबारे बुझ्न खोजिरहेका छौँ ।”

बुधबार बिहान ९ः०० बजे तिब्बती क्षेत्रबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन आसपासको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *