बाढी प्रभावित क्षेत्रमा तत्काल तुइन राख्न सांसद टेकबहादुर गुरुङको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री टेकबहादुर गुरुङले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई सहज बनाउन तत्काल तुइनको व्यवस्था गर्न गृहमन्त्री सुधन गुरुङलाई सुझाव दिएका छन्।
नदीमा आएको बाढीका कारण वारिपारि आवतजावत अवरुद्ध भएकाले प्रभावित नागरिकसम्म पुग्न वैकल्पिक माध्यम आवश्यक रहेको भन्दै उनले तुइनको व्यवस्था गर्नुपर्ने बताएका हुन्।
बाढी प्रभावित नुवाकोटको विदुरस्थित ढुंगे बजार र देवीघाट क्षेत्रको स्थलगत निरीक्षण गरेपछि गुरुङले नेपाली सेनाको बट्टारस्थित मैथिली ब्यारेकमा गृहमन्त्री सुधन गुरुङसँग भेट गरेका थिए। सोही क्रममा उनले उद्धार कार्यलाई थप छिटो र प्रभावकारी बनाउन तुइन उपयोगी हुने सुझाव दिएका हुन्।
गुरुङले हेलिकप्टरबाट उद्धार गर्दा एकपटकमा सीमित व्यक्तिलाई मात्र सुरक्षित स्थानमा सार्न सकिने भएकाले ठूलो संख्यामा प्रभावित नागरिकको उद्धार गर्न समय लाग्ने बताए।
‘हेलिकप्टरबाट एकपटकमा चार–पाँच जनाको मात्रै उद्धार हुन्छ। त्यसरी गर्दा धेरै समय लाग्छ,’ उनले गृहमन्त्रीसँग भने, ‘यस्तो अवस्थामा तुइनको व्यवस्था गर्न सके उद्धार छिटो र प्रभावकारी बनाउन सकिन्छ।’
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि कतिपय स्थानमा स्थलगत आवागमन पूर्ण रूपमा प्रभावित भएको छ। यस्तो अवस्थामा नदी वारिपारिका नागरिकलाई सुरक्षित रूपमा आवतजावत गराउन अस्थायी संरचनाको आवश्यकता रहेको गुरुङको भनाइ छ।
उनले राहत सामग्री प्रभावित बस्तीमा पुर्याउन तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नसमेत स्थानीयस्तरमै प्रयोग गर्न सकिने वैकल्पिक माध्यम तत्काल तयार गर्नुपर्नेमा जोड दिएका छन्।
