भोटेकोशी बाढीमा ५४७ को मृत्यु, उद्धारमा ४४७३ प्रहरी
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरीले शुक्रबार अपराह्न ३ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीपछि विभिन्न जिल्लाबाट ५४७ जनाको शव फेला परेको जनाएको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। त्यहाँ २२१ जनाको शव भेटिएको छ। नवलपरासी पूर्वमा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, नवलपरासी पश्चिममा २८, तनहुँमा २९ र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीका अनुसार अहिले ४ हजार ४७३ जना प्रहरी कर्मचारी खोज तथा उद्धारमा खटिएका छन्।
विपद्को उद्धार अभियानमा खटिएका २७ जना प्रहरी कर्मचारीसमेत सम्पर्कविहीन छन्। उनीहरूमध्ये एक प्रहरी कर्मचारीको शव फेला परिसकेको प्रहरीले जनाएको छ।
बाढीबाट घाइते भएका तथा उद्धारपछि उपचारका लागि लगिएका व्यक्तिको संख्या १ हजार ४७३ पुगेको छ। तीमध्ये रसुवामा ५७२, नुवाकोटमा ८९८ र धादिङमा तीन जना रहेका छन्।
त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचार गराइरहेका तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ९४ रहेको प्रहरीले जनाएको छ।
बाढीपछि नदी तथा आसपासका क्षेत्रमा अझै खोजी अभियान जारी रहेकाले मृतक र बेपत्ताको संख्या थप बढ्न सक्ने प्रहरीको अनुमान छ। उद्धार टोलीले जोखिमपूर्ण स्थानमा खोजीलाई निरन्तरता दिइरहेको छ।
