`

बाढीले बगाएको सेफमा लुट मच्चाउँदै थिए, २९ जना समातिए

Nepal One HD १३ भदौ २०८३ ११:४२
अपराध

काठमाडौं। त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर नगद निकाल्ने क्रममा २९ जना पक्राउ परेका छन्।

रसुवा तथा माथिल्लो तटीय क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको सेफ खोलेर गैरकानुनी रूपमा रकम निकालिरहेको अवस्थामा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ। उनीहरूमाथि घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रहरीले बाढी तथा विपद्को मौका छोपेर सरकारी, व्यावसायिक तथा निजी सम्पत्तिमा चोरी, तोडफोड र लुटपाट गर्ने गतिविधि रोक्न सुरक्षा निगरानी बढाएको जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले नियमित गस्ती तथा खोजी अभियान सञ्चालन गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *