बाढीपीडितका लागि ईयूले पठायो २० लाख युरो
काठमाडौं। रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि युरोपियन युनियन (ईयू) ले नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपत्कालीन अवस्थामा प्रभावित नागरिकका तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम उपलब्ध गराउने जनाएको हो । सहायता रकमबाट खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयलगायतका क्षेत्रमा सहयोग गरिनेछ ।
ईयूको सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित क्षेत्रमा राहत वितरणसमेत सुरु गरिसकेका छन् । बाढीपछि ती संस्थाले पूर्वतयारी अवस्थामा राखिएका आश्रय तथा राहत सामग्री तत्काल प्रभावित समुदायसम्म पुर्याउन थालेका हुन् ।
ईयूका अनुसार यो सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि छुट्याइएको करिब ३० लाख युरोको मानवीय सहयोगभन्दा अतिरिक्त हो ।
बाढीपछिको प्रतिकार्य समन्वय गर्न ईयूले एसियाका लागि ‘र्यापिड रेस्पोन्स कोअर्डिनेटर’ समेत परिचालन गर्ने जनाएको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिन र स्थानीय प्रतिकार्यलाई सहयोग पुर्याउन ईयूले ‘कोपरनिकस’ भू–उपग्रह सेवा पनि सक्रिय गरेको छ ।
ईयू कमिस्नर फर प्रिपेयर्डनेस एन्ड क्राइसिस म्यानेजमेन्ट हाड्जा लाहबिबले बाढीले सडक तथा बस्तीमा ठूलो क्षति पुर्याउनुका साथै कतिपय गाउँलाई सम्पर्कविहीन बनाएको उल्लेख गरेकी छन् । विपद्का कारण परिवारहरू आफ्ना सम्पर्कविहीन आफन्तको खोजीमा रहेको भन्दै उनले प्रभावित समुदायलाई तत्काल स्वास्थ्य सेवा, खाद्यान्न, खानेपानी र आश्रय आवश्यक रहेको बताइन् ।
ईयूले यस कठिन घडीमा नेपालका प्रभावित समुदायलाई साथ दिने प्रतिबद्धता जनाउँदै तत्कालीन मानवीय आवश्यकताका लागि २० लाख युरो सहायता उपलब्ध गराएको जनाएको छ ।
