भोटेकोशी विपद्मा स्थानीय तहलाई परिचालन गर्नुपर्थ्यो : सांसद शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानबहादुर शाहीले भोटेकोशी बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा संघीय सरकारले स्थानीय तहलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शाहीले बाढीपछि सुरुङभित्र फसेका नागरिकको उद्धारमा सरकारको ढिलासुस्ती देखिएको आरोप लगाए।
उनका अनुसार बाढी आएको ७२ घण्टापछि मात्रै अनुगमन टोली प्रभावित क्षेत्रमा पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पठाइएको थियो। त्यो टोलीसमेत सरकारी संयन्त्रबाट नभएको उनको दाबी थियो।
‘७२ घण्टापछि अनुगमनको टोली गयो, ९६ घण्टापछि उद्धारको टोली गयो, त्यो पनि सरकारको होइन,’ शाहीले भने।
उनले प्रभावित क्षेत्रमा उद्धारका लागि पर्वतारोही तथा आफैं पीडित बनेका व्यक्तिहरूको सहयोग लिनुपरेको भन्दै सरकारको तयारीमाथि प्रश्न उठाए।
सांसद जनताका प्रतिनिधि भएकाले जनताको आवाज संसद्मा उठाउनु स्वाभाविक भए पनि कार्यकारी अधिकार भएका मन्त्रीहरूले समेत विपद्को व्यवस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप थियो।
शाहीले संसद्मा सरकारले स्थानीय तहलाई पर्याप्त रूपमा परिचालन गरेको दाबी गरे पनि वास्तविकता त्यस्तो नरहेको जिकिर गरे।
स्थानीय स्रोतसाधन प्रयोग गरेको भए उद्धार र राहत कार्य अझ छिटो अघि बढ्न सक्ने उनको भनाइ थियो।
उनले पाँच घण्टाभित्र प्रभावित क्षेत्रमा स्काभेटर पठाउन सकिने अवस्था हुँदाहुँदै १४४ घण्टापछि मात्रै स्काभेटर पठाइएको दाबी गर्दै सरकारको विपद् व्यवस्थापन प्रणालीप्रति असन्तुष्टि व्यक्त गरे।
