भोटेकोशीमा बिलाए आफन्त, रसुवाका घरहरूमा छटपटी
रसुवा । स्याफ्रुबेंसीको चौर नजिकको खेतमा अझै पनि आफ्नो छोराबुहारी गाडिएको हुन सक्ने आशंकामा दावाफिन्जो लामा घन्टौंसम्म सुस्केरा हाल्छन्।
राष्ट्रिय पञ्चायतका पूर्वउपाध्यक्षसमेत रहेका उनी जीवनका थुप्रै उतारचढावका साक्षी हुन्। तर, बुढेसकालमा आफ्नै रगत र आफ्नै सन्तानलाई भोटेकोशीको भेलले बगाएपछि जीवनको यो गोरेटोमा उनीसँग रित्तोपन र अगाध पीडा बाँकी छ।
१० भदौको त्यो कालो दिन, जब भोटेकोशीमा भीषण बाढी आयो, त्यसले रसुवाका थुप्रै बस्तीहरूको खुसी क्षणभरमै खोस्यो।
लामा परिवारका छोरा, बुहारी, नाती–नातिना, छोरी र ज्वाइँ– सबैलाई बाढीले एकैपटक बेपत्ता बनायो। घटना भएको डेढ घण्टापछि मात्रै खबर पाएका यी ८० कटेका बुढाबुढीसँग न त नदीतिर गएर खोज्ने बल छ, न त त्यो भयानक दृश्य हेर्ने आँट।
‘म मेरो छोराबुहारी र छोरी–ज्वाइँसहित सबैलाई घरिघरि सपनामा देख्छु,’ लामा पुरपुरोमा हात राख्दै भन्छन्, ‘तर म बुढो र मेरी श्रीमती खोज्न जान सक्दैनौँ। जाँदा पनि कहाँ जानु? भोटेकोशीमा बाढी छ।’
नदीले बगाएका शवहरू चितवन र काठमाडौंमा व्यवस्थापन गरेको (माटोमुनी गाडेको) सुन्दा उनको मनमा अझ भयानक त्रास जन्मन्छ– कतै आफ्नै सन्तान पनि कसैले नचिनेर अज्ञात शव झैं माटोमुनि गाडिएका त छैनन्? यो आशंकाले उनको मुटु हरेक पल कोतिरहेको छ।
बाढीले उजाड बनाएको रसुवाको यो कथा दावाफिन्जोको मात्र होइन। घले दरबार नजिकै बस्ने ३२ वर्षीय विशाल घलेको संसार पनि यही बाढीले खोसिएको छ।
आमाको निधनपछि दिदी नै उनका लागि आमा बनेकी थिइन्। भविष्यका योजनाहरू बुन्ने, भाइलाई स्थानीय राजनीतिमा सक्रिय हुन र वडाध्यक्षको चुनाव लड्न प्रेरित गर्ने ती दिदी अब यो संसारमा छैनन्।
बाढीको खबर पाएलगत्तै विशाल ज्यानको बाजी राखेर मोटरसाइकलमा हुइँकिए । बाटोमा घुँडाघुँडा हिलोमा डुबेपछि मात्रै उनी झल्यास्स भए।
घटनास्थल पुग्दा उनले आफ्ना भिनाजुलाई आधा डुबेको अवस्थामा त तानेर बचाए, तर आमातुल्य दिदीलाई भने भोटेकोशीले सदाका लागि खोसिसकेको थियो।
फ्रान्समा रहेकी कान्छी बहिनी भिडियो कलमा रुँदै नेपाल फर्किन खोज्छिन्, तर विशालसँग दिने कुनै सान्त्वना शब्द छैन। उनी मात्र यति भन्छन्– ‘तिमी आउँदा दिदी फर्केर आउने भए आउनु।’
उता, कालिका–२ घुम्ती बजारकी ज्ञानु तामाङको घरमा पनि यो विपत्ति बज्र बनेर खस्यो।
चीनबाट नयाँ गाडी ल्याएर रसुवागढी हुँदै काठमाडौंसम्म पुर्याउने काम गर्ने उनका छोराहरू साजन र अनिश, भान्जाहरू निरज र प्रिन्स, भाइ सोमबहादुर तथा छोरी किप्पा मोक्तानसमेत बाढीको चपेटामा परे।
उनीहरूको अत्तोपत्तो नपाएपछि ज्ञानु र उनका आफन्तहरू बेत्रावतीका नदी किनारदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहसम्म भौंतारिरहेका छन्।
‘हामीले बेत्रावतीमा तीन दिनसम्म खोज्यौँ, भेटेनौँ,’ ज्ञानुको गला अवरुद्ध हुन्छ।
कालिका, सानोभार्कु, ठूलो भार्कु र ठाडेलगायत भोटेकोशी र त्रिशूली तटीय क्षेत्रका बस्तीहरूमा अहिले एउटै समानता छ– त्यो हो, कसैको फोनको घण्टी बज्ने प्रतीक्षा र आफन्त फर्किएर आउने झिनो आशा।
तर, प्रत्येक बित्दो दिनसँगै त्यो आशा पनि मलीन बन्दै गएको छ। रसुवाका यी बगरहरूमा अहिले केवल हराएका मानिसहरूको सुस्केरा र बाँकी रहेकाहरूको आँसु मात्र बगिरहेको छ।
