`

बिहेको पासोमा पैसा! ‘फिल्मी हिरो’ डम्बरको अर्को ठगीकाण्ड

Nepal One HD १९ भदौ २०८३ १६:५८
अर्थ समाचार

काठमाडौं। पर्दामा हिरो बनेका डम्बर भनिने सञ्जय खतिवडाको वास्तविक जीवनको ‘स्क्रिप्ट’ भने ठगीको देखिएको छ।

महिलासँग बिहे गर्ने सपना देखाएर आत्मीय सम्बन्ध गाँस्ने र त्यसपछि पैसा माग्ने गरेको आरोपमा पक्राउ परेका खतिवडाविरुद्ध अर्को महिलाले पनि प्रहरीमा जाहेरी दिएकी छन्।

बेलायतमा बस्ने नेपालीमूलकी महिलाबाट ४२ लाख रुपैयाँ ठगी गरेको आरोपमा भदौ ८ गते पक्राउ परेका खतिवडाविरुद्ध अनुसन्धान चलिरहेकै बेला काठमाडौंमा व्यवसाय गर्दै आएकी अर्की युवतीले पनि जाहेरी दिएकी हुन्।

प्रहरीका अनुसार यसपटकको ‘कथा’ झन् रोचक छ। खतिवडाले आफू दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न लागेको र राजदूत बनेपछि युवतीलाई श्रीमती बनाएर कोरिया लैजाने भन्दै रकम मागेका थिए।

राजदूत बन्न सभामुख डीपी अर्याललाई १ करोड ७५ लाख रुपैयाँ बुझाउनुपर्ने, त्यसमध्ये ७५ लाख दिइसकेको र अब एक करोड बुझाउन बाँकी रहेको उनले बताएका थिए।

युवती अटोमोबाइल व्यवसायमा संलग्न थिइन्। खतिवडाले आफू चलचित्र विषयमा पीएचडी गरेको, बूढानीलकण्ठमा हाइड्रो तथा होटल व्यवसाय रहेको र अविवाहित भएको भन्दै विश्वासमा पारेको जाहेरीमा उल्लेख छ। बिहे गर्ने भन्दै शारीरिक सम्बन्धको प्रस्तावसमेत राखेको तर युवतीले अस्वीकार गरेको प्रहरीको भनाइ छ।

विश्वास जित्न खतिवडाले रवि लामिछानेदेखि सभामुख डीपी अर्यालसम्म आफ्नो पहुँच रहेको दाबी गरेको आरोप छ। प्रभावशाली व्यक्तिहरूसँग खिचेका तस्बिर देखाउने र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई समेत ‘दाइ’ भन्ने गरेको जाहेरीमा उल्लेख छ।

ठगीको ‘स्क्रिप्ट’मा टोयोटा, कोरिया र युरोप पनि जोडिएका थिए। जापानको टोयोटासँग व्यवसाय विस्तारबारे कुरा भइरहेको, युरोपमा लगानीको अवसर आएको भन्दै युवतीबाट रकम लिएको आरोप छ। युरोपमा लगानी गर्न भन्दै मात्रै २२ लाख रुपैयाँ दिएको जाहेरीमा उल्लेख छ।

पछि आफू कोरियाको राजदूत नियुक्त भएको दाबी गरे पनि खतिवडा अष्ट्रेलिया घुम्न गएपछि युवतीलाई शंका लाग्न थालेको बताइएको छ। होटल–रेस्टुरेन्टको बिलदेखि टिकटसम्मको खर्च पनि आफूलाई नै तिराउने गरेको उनको आरोप छ।

युवती अस्पताल भर्ना भएपछि भने ‘दुलाहा’ हराउन थाले। खुट्टा भाँचिएर अस्पतालमा उपचाररत हुँदा खतिवडा बिल तिर्नुपर्ने डरले सम्पर्कबाट टाढिएको र त्यसपछि उनको वास्तविकताबारे खोजी गर्दा आफू विवाहित रहेकोलगायतका कुरा थाहा पाएको युवतीले जाहेरीमा उल्लेख गरेकी छन्।

रकम फिर्ता माग्दा उल्टै धम्की दिएको आरोप पनि छ। प्रहरीमा गए निर्मला पन्त र समीक्षा अधिकारीका घटनाजस्तै काण्डमा फसाइदिने चेतावनी दिएको युवतीको दाबी छ।

जाहेरीमा विभिन्न मितिमा लाखौँ रुपैयाँ दिएको हिसाबसमेत उल्लेख छ। बिहे हुने विश्वासमा पैसा मात्र होइन, खतिवडाको यात्रा, हवाई टिकट र खानपिनको खर्चसमेत युवतीले बेहोरेको बताइएको छ।

अहिले खतिवडा काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। उनीविरुद्ध ठगी र आपराधिक लाभ लिन नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यता सभामुख डीपी अर्यालको सचिवालयले भने खतिवडालाई सभामुखले नचिन्ने स्पष्ट पारेको छ। सभामुखको नाम र पहुँच दुरुपयोग गरेर ठगी गरिएको भए त्यस्तो कार्यमा संलग्नमाथि कडा कारबाही हुनुपर्ने सचिवालयको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *