ग्यास अभाव टार्न बाहिरै सिलिन्डर भरिँदै
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौंमा देखिएको एलपी ग्यास अभाव हटाउन उद्योगीहरू वैकल्पिक बाटो र आपूर्तिको व्यवस्थामा जुटेका छन् ।
नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगमा सिलिन्डर भरेर काठमाडौं ल्याउन अनुमति दिएपछि उद्योगीहरूले चितवन, मकवानपुरलगायत क्षेत्रबाट ग्यास आपूर्ति बढाउने तयारी थालेका हुन् ।
नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीले मकवानपुरका ट्रक व्यवसायीसँग समन्वय गरी काठमाडौंमा रहेका खाली सिलिन्डर बाहिरी उद्योगसम्म पुर्याउने र त्यही ट्रकबाट भरिएका सिलिन्डर राजधानी ल्याउने व्यवस्था मिलाइरहेका छन् ।
संघका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार बाहिरी उद्योगमा खाली सिलिन्डरको अभाव भएकाले काठमाडौंका खाली सिलिन्डर बाहिर लैजानुपर्ने अवस्था छ । चितवनस्थित नेपाल ग्यास गण्डकी उद्योगमा काठमाडौंका सिलिन्डर भर्ने काम सुरु भइसकेको उनले बताए ।
केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौं पठाउने तयारी भइरहेको छ । अन्य उद्योगले पनि खाली सिलिन्डर बाहिर लगेर भरी त्रिभुवन राजपथ हुँदै राजधानी पठाउन थालेका छन् ।
संघका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिन्डर खपत हुन्छ । अहिले अभावका कारण माग बढेर दैनिक एक लाख सिलिन्डरसम्म पुगेको छ ।
उद्योगीहरूले आपूर्ति बढाएसँगै केही दिनभित्रै काठमाडौंको ग्यास अभाव हट्ने दाबी गरेका छन् ।
