`

‘बालेनका दास’ लेख्ने को हुन्?

शुभेच्छा खड्का २५ भदौ २०८३ १७:५१
फिचर

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा चर्चामा आएको गीत हो– ‘बालेनका दास’। 

गीत अझै निर्माणकै चरणमा रहे पनि यसका शब्द र विषयवस्तुले सामाजिक सञ्जालमा चर्चा पाउन थालेका छन्।

तर ‘बालेनका दास’ लेख्ने को हुन् ?

यसका रचनाकार हुन्- विदेशमा रहेका नेपाली युवा बिजु।

लामो समयदेखि गीत लेखनमा रुचि राख्दै आएका बिजुले नेपालको पछिल्लो राजनीतिक र सामाजिक अवस्थालाई आधार बनाएर यो गीत तयार गरेका हुन्।

गीतमा अहिले दुईवटा अन्तरा तयार भइसकेका छन्। थप तीन–चार अन्तरा जोडेर गीतलाई पूर्णता दिने उनको तयारी छ। गीत सार्वजनिक हुँदा भने यसको अन्तिम स्वरूप केही फरक हुन सक्ने उनी बताउँछन्।

रोचक पक्ष के छ भने गीतमा सुनिने स्वर बिजुको आफ्नै होइन। उनले शब्द र संगीत आफैँ तयार गरेर एआई प्रविधिको प्रयोगमार्फत स्वर तयार गरिरहेका छन्। प्रविधिको सहजताका कारण आफूले लेखेका सिर्जना सार्वजनिक गर्न अहिले सजिलो भएको उनको भनाइ छ।

बिजुले यसअघि पनि नेपालको राजनीतिक तथा सामाजिक अवस्थालाई समेटेर ‘खराने ग्याङ’ नामक गीत तयार गरेका थिए। युट्युबमा अपेक्षाकृत धेरै चर्चा नपाए पनि टिकटक र फेसबुकमा भने उक्त सिर्जना फैलिएको उनी बताउँछन्।

‘बालेनका दास’ तयार गर्नुको कारणबारे बिजु सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने क्रममा आउने प्रतिक्रिया र व्यवहारले आफूलाई गीत लेख्न प्रेरित गरेको बताउँछन्। उनका अनुसार सरकार वा सत्ताको आलोचना गर्ने व्यक्तिलाई विभिन्न नाम र ट्याग लगाएर कमजोर बनाउने प्रवृत्ति बढिरहेको छ।

आलोचनालाई लोकतन्त्रको स्वाभाविक अभ्यासका रूपमा लिनुपर्ने उनको धारणा छ। गलत कामको विरोध गर्दा आलोचना वा गाली सहनुपरे पनि आफूले प्रश्न उठाउन नछाड्ने उनको भनाइ छ।

गीत सार्वजनिक गर्ने क्रममा आफूले मिश्रित प्रतिक्रिया पाइरहेको बिजु बताउँछन्। केही व्यक्तिबाट सामाजिक सञ्जाल तथा व्यक्तिगत सन्देशमार्फत गाली र धम्की आउने गरेको उनको दाबी छ। तर आफूले उठाएका विषयसँग सहमत हुने र समर्थन जनाउनेहरू पनि रहेको उनी बताउँछन्।

बिजु आफू कुनै राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्छन्। बालेन सरकारको आलोचना गर्दैमा आफू पुराना राजनीतिक दलको समर्थक नहुने उनको भनाइ छ।

उनको तर्क छ-  सत्तामा जो हुन्छ, प्रश्न पनि उसैसँग गरिन्छ। सत्ता बाहिर रहेका दल वा नेताको आलोचना गरेर तत्काल सरकारको काममाथि प्रश्न उठाउन नसकिने उनको धारणा छ।

पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति पनि आफू सन्तुष्ट नरहेको र अहिलेको सरकारका सबै कामलाई पनि सही भन्न नसकिने बिजु बताउँछन्। उनको निष्कर्ष छ- पुराना दल गलत थिए भन्दैमा वर्तमान नेतृत्वका कमजोरीमाथि प्रश्न गर्न छाड्नु हुँदैन।

उनका अनुसार कुनै पनि नेतृत्वप्रति अन्धसमर्थन लोकतन्त्रका लागि उचित हुँदैन। नेतृत्वलाई सही बाटोमा राख्न समर्थकसँगै आलोचकको भूमिका पनि आवश्यक हुन्छ।

बिजु बालेन आफैँ सत्ता बाहिर रहँदा गीत तथा सिर्जनात्मक अभिव्यक्तिमार्फत आफ्ना विचार सार्वजनिक गर्दै राजनीतिमा स्थापित भएको प्रसंग पनि उठाउँछन्। त्यसैले अहिले आलोचनात्मक अभिव्यक्तिलाई अस्वीकार गर्ने वा दबाउने प्रयास उचित नहुने उनको धारणा छ।

करिब सात वर्षदेखि विदेशमा रहेका बिजु ३० वर्ष पुगेका छन्। परदेशमा रहे पनि नेपालको राजनीतिक र सामाजिक गतिविधिलाई नजिकबाट पछ्याइरहेको उनी बताउँछन्।

कामका क्रममा मनमा आएका शब्द, वाक्य वा विचार तत्काल टिपोट गरेर राख्ने र फुर्सदमा त्यसलाई मिलाउँदै गीतको रूप दिने उनको सिर्जना प्रक्रिया हो।

राजनीतिक विषयमा मात्रै सीमित छैनन् उनका सिर्जना। परदेशी जीवन, परिवार, विदेशिनुको पीडा तथा बाबु–आमाले सन्तान विदेशिँदा भोग्ने भावनालाई समेटेर पनि उनले गीतहरू तयार गरेका छन्। विदेशिने क्रममा छोरीबाट टाढिनुपर्दाको भावनालाई समेत उनले सिर्जनामा उतारेका छन्।

आफू भविष्यमा गायकभन्दा पनि गीतकार र रचनाकारका रूपमा चिनिन चाहेको बिजु बताउँछन्। एआईलगायत प्रविधिको विकासले संगीत सिर्जनालाई सहज बनाइरहेको भन्दै आगामी दिनमा आफ्ना सिर्जनालाई निरन्तर सार्वजनिक गर्ने उनको योजना छ।

अहिले भने ‘बालेनका दास’ पूर्ण भइसकेको छैन। थप अन्तरा तयार गरी गीतलाई अन्तिम रूप दिएपछि सार्वजनिक गर्ने तयारीमा बिजु छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *