`

भोटेकोशी बाढीको चपेटामा शैक्षिक क्षेत्र,पुनर्निर्माणमा सवा २ अर्ब लाग्ने

Nepal One HD २६ भदौ २०८३ १८:२२
अर्थ समाचार

काठमाडौं। गत भदौ १० गते चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जिल्लाको शिक्षा क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ । नदी आसपासका शैक्षिक संरचना बाढीले बगाएपछि कतिपय विद्यालयको अस्तित्व नै मेटिएको छ ।

बाढीबाट क्षतिग्रस्त शैक्षिक संरचना पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउन प्रारम्भिक रूपमा २ अर्ब ३४ करोड ३२ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले गरेको द्रुत क्षति तथा आवश्यकता आकलनअनुसार बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ विद्यालयका भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने सात विद्यालयमा आंशिक क्षति पुगेको छ ।

विद्यालय भवनसँगै फर्निचर, पाठ्यपुस्तक, शैक्षिक सामग्रीलगायतका सम्पत्तिमा समेत ठूलो क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । बाढीका कारण त्यस क्षेत्रका ९ हजारभन्दा बढी विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ ।

तत्काल पठनपाठन सञ्चालन गर्न र आवश्यक भौतिक संरचना निर्माणका लागि मात्रै साढे १० करोड रुपैयाँभन्दा बढी आवश्यक पर्ने अनुमान छ । दीर्घकालीन रूपमा शिक्षा क्षेत्रको पुनर्निर्माण गर्न भने २ अर्ब २३ करोड ८२ लाख रुपैयाँभन्दा बढी खर्च हुने प्राधिकरणको आकलन छ ।

विद्यालय नै क्षतिग्रस्त भएपछि पढाइबाट वञ्चित विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भनेर सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ अघि सारेको छ । निजी विद्यालयका पाँचवटा छाता संगठनले पनि प्रभावित विद्यार्थीका लागि करिब १ अर्ब रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, बाढी प्रभावित विद्यार्थीको पढाइलाई निरन्तरता दिन नजिकका विद्यालयमा वैकल्पिक रूपमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन स्थानीय तहसँग समन्वय भइरहेको छ ।

तर, विद्यालय भवन पुनर्निर्माणदेखि शैक्षिक सामग्री व्यवस्थापनसम्मको काम तत्काल अघि बढाउन नसके बाढीको असर विद्यार्थीको पढाइमा लामो समयसम्म रहने जोखिम देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *