भारत-चीन सम्बन्धबाट नेपालले रणनीतिक लाभ लिनुपर्छ : भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच पछिल्लो समय देखिएको संवाद र सहकार्यलाई नेपालले आफ्नो राष्ट्रिय हितमा उपयोग गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न ब्रिक्स शिखर सम्मेलन तथा त्यस क्रममा भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भएको भेटवार्तालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका हुन्।
उनले दुई छिमेकीबीचको दूरी र प्रतिस्पर्धालाई आफ्नो तत्कालीन राजनीतिक स्वार्थ पूरा गर्न प्रयोग गर्ने पुरानो प्रवृत्तिबाट नेपाल मुक्त हुनुपर्ने बताएका छन्। उनका अनुसार भारत र चीनबीचको सम्बन्धमा आउने परिवर्तनलाई नेपालले अवसरका रूपमा उपयोग गर्न सक्नुपर्छ।
भट्टराईले विगतमा नेपालका शासकहरूले भारत र चीनबीचको दूरीमा खेलेर क्षणिक राजनीतिक लाभ लिन खोज्दा मुलुक दीर्घकालीन रूपमा अल्पविकास र परनिर्भरताको चक्रमा फसेको टिप्पणी गरेका छन्।
नेपालजस्तो विकासोन्मुख मुलुकले बदलिँदो क्षेत्रीय शक्ति सन्तुलनलाई गम्भीरतापूर्वक अध्ययन गरी दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ छ। उनले छिमेकी मुलुकहरूबीच विकसित हुँदै गरेको नयाँ समीकरणबाट अधिकतम आर्थिक तथा रणनीतिक लाभ लिन स्पष्ट दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
भारतको अगुवाइमा ब्रिक्स सम्मेलनबाट जारी घोषणापत्र तथा चीन–भारत सम्बन्धलाई दीर्घकालीन र रणनीतिक ढंगले अघि बढाउने प्रतिबद्धतालाई पनि उनले सकारात्मक संकेतका रूपमा लिएका छन्।
भट्टराईले भारत र चीनबीच प्रतिस्पर्धासँगै सहकार्यको सम्भावना बढ्दै गए त्यसबाट नेपालले फाइदा लिन सक्ने बताएका छन्। त्यसका लागि प्रभावकारी कूटनीतिक पहलमार्फत नेपाललाई दुई ठूला छिमेकीबीचको ‘गतिशील सेतु’का रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।
नेपाललाई क्षेत्रीय शान्ति र सहकार्यको केन्द्रका रूपमा स्थापित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै उनले यस दिशामा तत्कालै योजनाबद्ध पहल सुरु गर्न वर्तमान नेतृत्वलाई आग्रह गरेका छन्।
उनका अनुसार भारत र चीनबीचको सम्बन्धमा आउने सकारात्मक परिवर्तनलाई नेपालले केवल राजनीतिक दृष्टिले नभई आर्थिक विकास, पूर्वाधार, व्यापार, पर्यटन र क्षेत्रीय कनेक्टिभिटीलगायतका क्षेत्रमा अवसरका रूपमा प्रयोग गर्न सक्नुपर्छ।
भट्टराईले बदलिँदो भूराजनीतिक परिस्थितिमा नेपाल कुनै पनि पक्षको प्रतिस्पर्धाको मैदान बन्नुभन्दा दुवै छिमेकीसँग पारस्परिक हित र राष्ट्रिय स्वार्थका आधारमा सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
