`

२० लाख डलरमा बिक्री भयो डोनाल्ड ट्रम्पको बाल्यकालको घर

Nepal One HD २८ भदौ २०८३ १६:२७
अर्थ समाचार

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाल्यकाल बितेको न्युयोर्कको क्विन्सस्थित घर करिब १९ लाख ३० हजार अमेरिकी डलरमा बिक्री भएको छ। लामो समयसम्म खाली रहेको उक्त घर जीर्ण अवस्थामा पुगेपछि मर्मतसम्भार र पुनर्निर्माण गरेर आधुनिक आवासका रूपमा बिक्री गरिएको हो।

ट्रम्प चार वर्षको उमेरसम्म बसेको उक्त घर क्विन्सको जमैका एस्टेट्स क्षेत्रमा अवस्थित छ। ‘ट्युडर’ शैलीमा निर्माण गरिएको पाँच शयनकक्ष र तीन स्नानकक्ष रहेको घर उनका पिता तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा निर्माण गरेका थिए। यद्यपि, पछिल्ला वर्षहरूमा उक्त सम्पत्ति ट्रम्प परिवारको स्वामित्वमा भने थिएन।

लामो समय प्रयोगविहीन अवस्थामा रहँदा घरमा पाइप फुटेर पानी पसेको थियो। त्यसका कारण भवनको भित्री भागमा क्षति पुगेको, ढुसी लागेको र घर छाडा बिरालाहरूको बासस्थान बनेको थियो। जीर्ण अवस्थामा पुगेको घरलाई पछिल्लो मालिकले ठूलो लगानी गरेर पुनः प्रयोगयोग्य र आधुनिक आवासमा परिणत गरेका हुन्।

गत जुलाईमा एक अज्ञात खरिदकर्तासँग बिक्री सम्झौता भएपछि घरजग्गासम्बन्धी वेबसाइटमा यसको अन्तिम बिक्री मूल्य १९ लाख ३० हजार अमेरिकी डलर कायम भएको विवरण सार्वजनिक भएको हो।

घरका विक्रेता तथा डेभलपर टोमी लिनले उक्त सम्पत्ति गत वर्ष ८ लाख ३५ हजार डलरमा खरिद गरेका थिए। त्यसपछि उनले करिब आठ महिनासम्म पुनर्निर्माणमा काम गरे। ‘न्युयोर्क पोस्ट’का अनुसार लिनले घरको स्तरोन्नतिमा थप करिब पाँच लाख डलर खर्च गरेका थिए।

पुनर्निर्माणका क्रममा घरको पुरानो संरचनालाई कायम राख्दै भित्री भागमा आधुनिक सुविधा थपिएको थियो। व्यावसायिक स्तरको भान्सा, ‘हेरिङबोन’ शैलीको काठको भुइँ तथा स्पा सुविधासहितका स्नानकक्ष निर्माण गरिएका थिए। यससँगै लामो समयदेखि जीर्ण अवस्थामा रहेको घरलाई उच्चस्तरीय आधुनिक आवासका रूपमा तयार पारिएको थियो।

घरको इतिहासका कारण यसको बिक्री र मूल्यमा पनि ट्रम्पसँगको सम्बन्धले विशेष चासो सिर्जना गर्दै आएको छ। घरजग्गासम्बन्धी प्लेटफर्म ‘जिलो’का अनुसार पछिल्ला वर्षहरूमा उक्त सम्पत्ति पटक–पटक किनबेच भएको छ।

सन् २०१७ मा ट्रम्प अमेरिकी राष्ट्रपति बनेको केही महिनापछि उक्त घर २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो। त्यसबेला ‘ट्रम्प बर्थ होम एलएलसी’ नामक संस्थाले घर खरिद गरेको थियो। पछि केही समय उक्त सम्पत्ति ‘एयरबिएनबी’मार्फत भाडामा समेत उपलब्ध गराइएको थियो।

एयरबिएनबीका रूपमा प्रयोग हुँदा घरमा ट्रम्पको वास्तविक आकारको कार्डबोर्ड कटआउट राखिएको थियो। साथै, उनको चर्चित पुस्तक ‘द आर्ट अफ द डिल’का प्रतिहरू तथा ट्रम्पको तस्बिरसहितको ‘पिपुल्स’ म्यागजिनको फ्रेम गरिएको कभर पनि सजावटका रूपमा राखिएको थियो।

सन् २०१९ मा उक्त घरलाई २९ लाख डलर मूल्य तोकेर बिक्रीमा राखिएको थियो। तर अपेक्षित मूल्यमा खरिदकर्ता नपाएपछि लामो समयसम्म बिक्री हुन सकेन। अन्ततः डेभलपर टोमी लिनले घर खरिद गरी जीर्णोद्धार गरेका थिए।

पु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *