‘होप’ : एक्सन, विज्ञानकथा र मानवीय संवेदनाको अनौठो मिश्रण
काठमाडौं। दक्षिण कोरियाली निर्देशक ना होङ-जिन आफ्नो तीव्र गतिका र रोमाञ्चक फिल्मका लागि परिचित छन्। ‘द चेजर’, ‘द यल्लो सी’ र ‘द वेलिङ’ जस्ता चर्चित फिल्मपछि उनी करिब एक दशकपछि नयाँ फिल्म ‘होप’ लिएर फर्किएका छन्। यसपटक उनले आफ्नो कथालाई अझ ठूलो, रहस्यमय र विज्ञानकथाको संसारसम्म विस्तार गरेका छन्।
करिब १५६ मिनेट लामो ‘होप’ को कथा दक्षिण कोरियाको सीमावर्ती क्षेत्र होप हार्बरबाट सुरु हुन्छ। त्यहाँ रहस्यमय रूपमा जनावरमाथि आक्रमण हुन थालेपछि प्रहरी प्रमुख बुम-सोक अनुसन्धानमा जुट्छन्। सुरुमा उक्त घटनालाई उत्तर कोरियाबाट आएको बाघसँग जोडिए पनि घटनाक्रम अघि बढ्दै जाँदा खतरा निकै ठूलो रहेको संकेत देखिन थाल्छ।
बुम-सोक भग्नावशेष र विनाशका संकेत पछ्याउँदै रहस्यमय प्राणीको खोजीमा लाग्छन्। लामो समयसम्म निर्देशकले दर्शकलाई उक्त प्राणीको वास्तविक रूप देखाउँदैनन्। अन्ततः देखा पर्ने जीव सामान्य जनावरभन्दा निकै फरक हुन्छ-मानिसजस्तो दुई खुट्टामा हिँड्न सक्ने र आवश्यक पर्दा चार खुट्टामा दौडिन सक्ने विशाल एलियन।
फिल्मको विशेषता भनेको एलियनलाई केवल विनाशकारी प्राणीका रूपमा प्रस्तुत नगर्नु हो। एउटा निर्णायक क्षणमा बुम-सोकले त्यसको आँखामा पीडाको अनुभूति देख्छन्। यही घटनाबाट फिल्मले मानिस र ‘अर्को प्रजाति’बीचको सम्बन्ध, डर र सहानुभूतिका प्रश्न उठाउन थाल्छ।
ना होङ-जिनका पुराना फिल्ममा जस्तै यहाँ पनि प्रहरी र प्रशासनलाई पूर्ण रूपमा सक्षम देखाइएको छैन। उनीहरू घटनाको गहिराइ बुझ्न संघर्ष गरिरहेका हुन्छन्। प्रहरी अधिकारी सुङ-ए भने साहसका साथ अनुसन्धानमा जोडिन्छिन्। ‘स्क्विड गेम’बाट चर्चित अभिनेत्री होयोनका लागि यो ठूलो पर्दाको महत्वपूर्ण डेब्यु पनि हो।
फिल्ममा एक्सनसँगै निर्देशकले व्यंग्य र हास्यलाई पनि जोड दिएका छन्। एलियनको शव परीक्षणदेखि स्थानीय प्रत्यक्षदर्शीका हास्यास्पद तर असहज अनुभवसम्मका दृश्यले गम्भीर कथाबीच अनपेक्षित हास्य थप्छन्।
कथा अघि बढ्दै जाँदा जंगलमा एलियनको खोजी गरिरहेका शिकारीहरूको समूह र उनीहरूको अनुसन्धान पनि केन्द्रमा आउँछ। त्यस क्रममा दर्शकले एलियनको पक्षलाई समेत बुझ्ने अवसर पाउँछन्। माइकल फासबेन्डर, एलिसिया भिकान्डर र टेलर रसेलजस्ता हलिउड कलाकारहरू एलियन पात्रका रूपमा देखिन्छन्।
विशाल बजेट, अत्याधुनिक दृश्य प्रभाव र लामो रनटाइमका कारण ‘होप’ दक्षिण कोरियाली सिनेमाको महत्वाकांक्षी परियोजनामध्ये एक बनेको छ। यद्यपि कतिपय दृश्यमा कम्प्युटरबाट निर्माण गरिएका दृश्य प्रभाव कमजोर देखिन सक्छन् र लामो कथाले फिल्मको गति केही ठाउँमा सुस्त बनाउँछ।
तर यसको बाबजुद ‘होप’ परम्परागत मोन्स्टर फिल्मभन्दा फरक देखिन्छ। एक्सन, विज्ञानकथा, व्यंग्य, मानवीय कमजोरी र एलियनप्रतिको सहानुभूतिलाई एउटै कथामा मिसाउने प्रयासले यसलाई आफ्नै शैलीको फिल्म बनाएको छ।
फिल्मको अन्तिमतिर आउने विशाल खुला सडकमा केन्द्रित चेज दृश्य भने यसको सबैभन्दा रोमाञ्चक पक्षमध्ये एकका रूपमा प्रस्तुत गरिएको छ। निर्देशकले कथालाई अझ अगाडि बढाउने संकेतसमेत छाडेका छन्। त्यसैले ‘होप’ को आगामी अध्याय आउँछ कि आउँदैन भन्ने विषय अहिले दर्शकका लागि अर्को प्रतीक्षाको विषय बनेको छ।
(कोयल एक अमेरिकन् फिल्म समीक्षक हुन्।)
