अपेक्षाभन्दा तीव्र गतिमा खुम्चिँदै बुध ग्रह
काठमाडाैं। सौर्यमण्डलको सबैभन्दा सानो तथा सूर्यको सबैभन्दा नजिक रहेको बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा पनि तीव्र गतिमा खुम्चिँदै गएको नयाँ अध्ययनले देखाएको छ।
जर्मन एयरोस्पेस सेन्टरको अन्तरिक्ष अनुसन्धान संस्थानका वैज्ञानिकहरूले गरेको अध्ययनअनुसार बुध ग्रहको व्यास हालसम्म गरिएको अनुमानभन्दा करिब ३० प्रतिशत बढी घटेको हुनसक्छ। वैज्ञानिकहरूको नयाँ आकलनअनुसार बुधको व्यासमा करिब १४ माइल अर्थात् २३ किलोमिटरसम्म कमी आएको हुनसक्ने देखिएको छ। करिब ४ हजार ९०० किलोमिटर व्यास भएको ग्रहका लागि यो निकै ठूलो परिवर्तन हो।
वैज्ञानिकहरूका अनुसार बुधको सतहमा उल्कापिण्ड तथा अन्य अन्तरिक्षीय वस्तु ठोक्किँदा बनेका असंख्य खाल्डा र त्यसबाट जम्मा भएको पदार्थले ग्रहको वास्तविक संकुचनका संकेतहरू छोपिदिएका हुन सक्छन्। यही कारण विगतका अध्ययनले बुध ग्रह कति खुम्चिएको छ भन्ने कुरा पूर्ण रूपमा पहिचान गर्न नसकेको हुनसक्ने वैज्ञानिकहरूको भनाइ छ। यो अध्ययन ‘जियोफिजिकल रिसर्च लेटर्स’ नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ।
बुध ग्रहको अध्ययनका लागि महत्वपूर्ण मानिएको युरोपेली अन्तरिक्ष एजेन्सी र जापानको संयुक्त अभियान बेपिकोलम्बो पनि अहिले बुधतर्फ अघि बढिरहेको छ। अभियानमा रहेका युरोपेली र जापानी अन्तरिक्षयानले आफ्नो क्रुजिङ प्लेटफर्मबाट अलग भएर बुधको कक्षातर्फ यात्रा अघि बढाएका छन्। आगामी नोभेम्बरमा बुधको कक्षमा प्रवेश गरेपछि यी दुई यान अलग-अलग भएर ग्रहको विस्तृत अध्ययन गर्ने तयारीमा छन्।
बेपिकोलम्बोमा जडित लेजर उपकरणले बुधको सतहको अवस्थाबारे थप सटीक मापन गर्न सक्ने वैज्ञानिकहरूको अपेक्षा छ। अध्ययनका प्रमुख लेखक गाकु निशियामाका अनुसार उक्त उपकरणबाट बुध वास्तवमै कति खुम्चिएको छ भन्नेबारे अझ स्पष्ट प्रमाण प्राप्त हुन सक्छ।
बुधको संकुचन ग्रहको आन्तरिक संरचनामा भइरहेको चिसिने प्रक्रियासँग सम्बन्धित छ। करिब ४.५ अर्ब वर्षअघि बनेको बुधको केन्द्रभाग अत्यन्त ठूलो र फलामयुक्त छ। समयक्रममा यसको तातो आन्तरिक भाग चिसिँदै जाँदा केन्द्र, म्यान्टल र बाहिरी तहमा संकुचन भइरहेको छ। त्यसको प्रभावस्वरूप ग्रहको सतह पनि भित्रतर्फ तानिँदै गएको वैज्ञानिकहरूको निष्कर्ष छ।
निशियामा नेतृत्वको टोलीले बुधको सतहमा रहेका भ्रंश, चिरा तथा अन्य भौगोलिक संरचनाको नक्सालाई पछिल्लो समय तयार पारिएका सतहको खस्रोपनसम्बन्धी नक्सासँग तुलना गरेको थियो। अध्ययनका क्रममा अत्यधिक खस्रो सतह भएका क्षेत्रमा संकुचनका कारण बन्ने संरचना अपेक्षाकृत कम देखिएको पाइयो।
वैज्ञानिकहरूले त्यस्ता क्षेत्रमा उल्कापिण्डका ठक्करबाट जम्मा भएको भग्नावशेषले बुधको संकुचनका पुराना संकेतहरू ढाकेको हुनसक्ने अनुमान गरेका छन्। ती लुकेका क्षेत्रलाई समेत गणनामा समावेश गरेपछि बुध ग्रहको संकुचनसम्बन्धी नयाँ अनुमान निकालिएको हो।
यस अध्ययनले बुध ग्रहको मात्र नभई आन्तरिक रूपमा चिसिँदै र संकुचित हुँदै जाने अन्य ग्रह तथा खगोलीय पिण्डको विकासक्रम बुझ्नसमेत सहयोग पुर्याउन सक्ने वैज्ञानिकहरूको विश्वास छ।
बुधको अध्ययनका लागि अहिलेसम्म दुईवटा अन्तरिक्षयान मात्र पुगेका छन्। सन् १९७० को दशकमा नासाको मरिनर-१० बुधमा पुगेको थियो भने त्यसपछि मेसिन्जर अभियानले सन् २०१० को दशकमा ग्रहको विस्तृत अध्ययन गरेको थियो। अब बेपिकोलम्बोबाट प्राप्त हुने नयाँ तथ्यले बुधको वास्तविक भौगोलिक इतिहासबारे थप जानकारी दिने अपेक्षा गरिएको छ।
अध्ययनका प्रमुख वैज्ञानिक निशियामाले नयाँ अनुसन्धानले आफूहरू बुधको विकासक्रमको वास्तविक अवस्थाको अझ नजिक पुगिरहेको महसुस भएको बताएका छन्।
-एपी
