भोटेकोसी बाढीले तहसनहस बनाएको कृषि क्षेत्र
काठमाडौं । भोटेकोसी-त्रिशूलीमा आएको विनाशकारी बाढीले सडक, पुल र बस्तीमा मात्रै क्षति पुर्याएन, किसानको वर्षभरिको मेहनतसमेत बगाएर लगेको छ।
खेतमा लहलहाउँदो धान र तरकारी उत्पादनको आशा गरेका किसान अहिले बाढीले खेतबारी तहसनहस बनाएपछि ठूलो क्षतिको सामना गर्न बाध्य भएका छन्।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन (आरएनडीएन) प्रतिवेदनले बाढीले कृषि क्षेत्रमा पुर्याएको क्षतिको भयावह तस्वीर देखाएको छ।
प्रतिवेदनअनुसार बाढीबाट १ हजार ६६९ हेक्टर धान खेती प्रभावित भएको छ। यसबाट मात्रै ५ हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान छ। खेतमा बाढी पसेपछि किसानले भित्र्याउने बेलाको अन्न गुमाएका छन् भने कतिपय ठाउँमा खेतीयोग्य जमिनसमेत क्षतिग्रस्त भएको छ।
तरकारीको अवस्था पनि उस्तै छ। १३७ हेक्टर तरकारी खेती बाढीको चपेटामा परेको छ भने करिब १ हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ। बाढीले खेतमा लगाएको तरकारी मात्र नष्ट गरेन, किसानको तत्कालीन आम्दानीको बाटोसमेत बन्द गरिदिएको छ।
नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने क्षेत्र प्रभावित भएको छ। त्यहाँ २ हजार ४५० टन धानमा क्षति पुगेको अनुमान छ। लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर क्षेत्र प्रभावित हुँदा ७०० टन धान नष्ट भएको छ।
धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छीमा पनि ठूलो क्षेत्रफलको धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्ड र उत्तरगयामा समेत सयौँ हेक्टर धान खेती बाढीको चपेटामा परेको छ।
तरकारीतर्फ पनि विदुर सबैभन्दा बढी प्रभावित देखिएको छ। विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा १ हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ। धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छीमा समेत तरकारी खेती बाढीले तहसनहस बनाएको छ।
किसानको खेत मात्रै होइन, गोठ र खोर पनि सुरक्षित रहेनन्। बाढीले पशुपन्छी क्षेत्रमा समेत ठूलो क्षति पुर्याएको छ। प्रतिवेदनअनुसार २ लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। पशुधनतर्फ मात्रै अनुमानित क्षति १ अर्ब ११ करोड ३९ लाख रुपैयाँ पुगेको छ।
संख्याका हिसाबले कुखुरा सबैभन्दा धेरै प्रभावित भएका छन्। करिब २ लाख १४ हजार ८२७ कुखुरा बाढीबाट प्रभावित भएका छन्। तर आर्थिक क्षतिको हिसाबले ठूला पशुको हिस्सा ठूलो छ।
४ हजार ५७२ भैँसी प्रभावित हुँदा मात्रै ४५ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। बाख्रा तथा च्याङ्ग्रामा ३९ करोड १३ लाख र गाईगोरुमा १७ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
अन्य पशुमा १ करोड ४ लाख, बङ्गुर तथा बँदेलमा १ करोड ९६ लाख, भेडामा २५ लाख, कुखुरामा ५ करोड ३७ लाख र अन्य चरामा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बाढीले खेतमा लगाएको अन्नदेखि गोठमा पालेको पशुसम्म नछाडेपछि प्रभावित किसानको आम्दानीको आधार नै हल्लिएको छ। एकातिर उत्पादन गुमेको छ, अर्कोतिर पुनः खेती गर्न र पशुपालन सुरु गर्न थप लगानी चाहिने अवस्था आएको छ।
भोटेकोसी–त्रिशूली बाढीको क्षति अब राहत बाँडेर मात्रै टुंगिने अवस्था देखिँदैन। किसानलाई फेरि खेतमा फर्काउन बीउ, मल, कृषि सामग्री र पशुधनको व्यवस्थापनसँगै क्षतिग्रस्त खेतीयोग्य जमिनको पुनःस्थापना आवश्यक देखिएको छ।
बाढीले बगाएको धान र तरकारीको हिसाब कागजमा देखिन्छ, तर त्यससँगै बगेको किसानको वर्षभरिको श्रम, आम्दानी र भविष्यको हिसाब अझ ठूलो छ। ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि नै कमजोर भएपछि बाढीको असर प्रभावित बस्तीमा लामो समयसम्म देखिने जोखिम बढेको छ।
