विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
सुनसरी । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराएका छन् । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारी खेती गर्दै आएका उनले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
उनको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लागेका छन् । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भने ।
विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उनले बताए । पहिला सडक तथा यातायातको सुविधा थिएन । दुईचार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्याउनु पर्थ्यो । अहिले बारीमै गाडी लिएर व्यापारी आउँछन् ।
चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडा खेती गर्दै आएका छन् । साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाएका छन् । गोलभेँडाको मुख्य सिजन कात्तिक मङ्सिरदेखि फागुन–चैतसम्म ५० जनाभन्दा बढी कामदारले अर्जुनको फार्ममा काम गर्ने गरेका छन् । अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिए ।
गत वर्ष गोलभेँडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले रु एक करोड बराबरको कारोबार भएको उनले बताए । “यस वर्ष कस्तो हुन्छ हेरौँ । मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ”, उनले भने ।
अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार फरक हुने गरेको छ । सामान्य अवस्थामा प्रतिकिलो रु ३० देखि ५० तथा कहिलेकाहीँ रु ८० देखि रु ९५ सम्म बिक्री हुने गरेको छ । कहिलेकाहीँ प्रतिकिलो रु पाँचमा पनि बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।
“मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुने उनले बताउनुभयो । राम्रो मूल्य भएको समयमा एकै दिन रु तीन लाख बढीको गोलभेँडा बिक्री हुने गरेको छ”, श्रीरामले भने, “बोडी, काँक्रा, कोभीलगायतका मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको छ ।”
अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहेका छन् । “विदेशभन्दा नेपालमा कमाइ राम्रो छ । कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो । सुरुआती समयमा आलु, कोभीलगायतका तरकारी खेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो”, उनले भने ।
औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताए । “हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ”, उनको भनाइ छ । करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारी खेती गरिँदै आएको उनले बताउनुभयो । बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको छ । “उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन । हामीले बजार खोज्दै जानु पर्दैन । व्यापारी आफैँ खेतमा आउँछन् । यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ”, लक्ष्मणले भने ।
धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् । यो खेतीमा लगानी बढिरहेको र दुःख पनि भएको उहाँको भनाइ छ । लगानीअनुसार उत्पादन राम्रो हुने घाटा नहुने उनी स्मरण गर्छन्।
“अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको छ भने अरूलाई पनि रोजगारी दिन सकिएको छ”, उनले भने, बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडा खेती हुने गरेको छ । अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् ।रासस
