`

डा. सापकोटाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दर्ता

Nepal One HD २ असोज २०८३ १८:०५
अपराध

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ स्वास्थ्य प्रशासक डा. अर्जुन प्रसाद सापकोटा र उनकी श्रीमती निरजा पण्डितविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

डा. सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका आकर्षक कार्यालयहरूमा कार्यरत रहँदा पदीय हैसियतको दुरुपयोग गरी काठमाडौंका प्रमुख शहरहरूमा महँगो घरघडेरी खरिद, सवारी साधन खरिदका साथै अस्वाभाविक जीवनशैली बिताएको भन्‍ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

वि.सं. २०५३ साउन २५ देखि २०८० वैशाख ३० गतेसम्मको जाँच अवधिमा डा. सापकोटाको कुल वैध आम्दानी ३ करोड ३५ लाख ७७ हजार २ सय ६० रुपैयाँ ३४ पैसा रहेको देखिएको छ। यस अवधिमा पारिश्रमिक, भत्ता, घरबहाल, जग्गा र शेयर बिक्री, कृषि आय तथा बैंक ब्याजसमेतलाई वैधानिक आय मानिएको छ।

सोही अवधिमा उनको कुल खर्च तथा लगानी ५ करोड ३९ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ ५८ पैसा देखिएको छ, जसमा घरजग्गा खरिद, निर्माण, शेयर, सवारी साधन, अध्ययन, विदेश भ्रमण तथा बैंक मौज्दात समावेश छन्।

कुल वैध आम्दानीको तुलनामा खर्च तथा लगानी २ करोड ३ लाख ९४ हजार ६ सय १५ रुपैयाँ २४ पैसा बढी देखिएको र सो रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेकाले अख्तियारले सोही रकम बराबरको गैरकानुनी सम्पत्ति (बिगो) कायम गरेको छ।

उक्त गैरकानुनी सम्पत्ति श्रीमती निरजा पण्डितको नाममा समेत राखिएको पाइएकाले दुवै जनालाई प्रतिवादी बनाई बिगो असुल उपर र कानुन बमोजिम कडा सजायको मागदाबी गर्दै आयोगले मुद्दा दर्ता गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *