शहीदको रगतले लेखिएको संविधान हामी कामले पूरा गर्नेछौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संविधानले वाचा गरेका सबै खालका विभेदको अन्त्य र समतामूलक समाज स्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
संविधान दिवसका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले लोकतन्त्र र मानव अधिकार राष्ट्रिय जीवनका आधार भएको उल्लेख गरे। उनले संविधान कार्यान्वयन गर्ने हात राम्रो हुनुपर्नेमा जोड दिए।
‘भ्रष्टाचारको जरो गहिरो छ, त्यो उखेल्ने हात बलिया छन्,’ प्रधानमन्त्री शाहले भने।
उनले सरकार सुशासनको मार्गमा अघि बढिरहेको दाबी गर्दै राष्ट्र विकासको साझा उद्देश्य पूरा गर्न सरकारले काम गरिरहेको बताए। डिजिटल सुशासन सुनिश्चित गरिने पनि उनले बताए।
प्रधानमन्त्री शाहले संविधानले परिकल्पना गरेको व्यवस्था व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी सबैको भएको उल्लेख गरे।
‘संविधान पूरा हुने दिन हामी आफैंले ल्याउनुपर्छ। यो सरकारको हरेक कदम त्यसतर्फ हुनेछ। शहीदहरूको रगतले लेखिएको संविधान हामी कामले पूरा गर्नेछौँ,’ उनले भने।
शाहले संविधानमा उल्लेख गरिएका लोकतन्त्र, मानव अधिकार, समानता र सामाजिक न्यायका मूल्यलाई व्यवहारमा स्थापित गर्न सरकार केन्द्रित रहेको बताए।
