अमेरिकासँग वार्ताका लागि इरानका सर्त, हर्मुज नखोल्ने चेतावनी
एजेन्सी। इरानले अमेरिका सामु युद्ध अन्त्य र हर्मुज जलसन्धि पुनः खोल्नेसम्बन्धी आफ्ना सर्तहरू मध्यस्थकर्तामार्फत पठाएको जनाएको छ।
इरानी संसद्का सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले आइतबार आफ्ना सन्देश र सर्तहरू मध्यस्थकर्तामार्फत अमेरिकासम्म स्पष्ट रूपमा पुर्याइएको बताएका छन्।
उनका अनुसार इरानका सर्त पूरा नभएसम्म हर्मुज जलसन्धि पुनः खोल्ने र यसअघि कायम वार्ताको अवस्थामा फर्कने सम्भावना छैन।
यसअघि इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले कतारमार्फत अमेरिकासँग सर्तहरू पठाइएको बताएका थिए। उनका अनुसार युद्धका सबै मोर्चामा अन्त्य, इरानका रोकिएका कोष फुकुवा र इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य इरानका प्रमुख माग हुन्।
गालिबाफले इरानका अधिकार स्वीकार हुनुपर्ने र अमेरिकाले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
उनले ती सर्त पूरा नभएसम्म हर्मुज जलसन्धि खोल्ने विषयमा सहमति नहुने स्पष्ट पारेका छन्।
हर्मुज जलसन्धि विश्वको प्रमुख तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक हो। पछिल्लो समय युद्धका कारण यहाँबाट हुने व्यापारिक जहाज आवागमन निकै घटेको छ।
इरान र अमेरिकाबीचको गतिरोध अन्त्य गर्न कतारसँगै पाकिस्तानले पनि मध्यस्थताको प्रयास गरिरहेको छ।
पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी वार्ताका लागि इरान जाने कार्यक्रम रहेको विवरण सार्वजनिक भएको छ। कतार र पाकिस्तानले यसअघि पनि दुवै पक्षबीच वार्ता पुनः सुरु गराउने प्रयास गर्दै आएका छन्।
वार्ताको प्रयाससँगै इरानी सेनाले अमेरिकालाई कडा चेतावनी पनि दिएको छ।
इरानको खातम अल–अनबिया केन्द्रीय सैन्य कमान्डले अमेरिकाले पुनः सैन्य कारबाही अघि बढाए मध्यपूर्वमा रहेका अमेरिकी आधार र हितलाई निरन्तर निशाना बनाउने चेतावनी दिएको छ।
यससँगै कूटनीतिक पहल र सैन्य चेतावनी एकैसाथ अघि बढेपछि अमेरिका–इरान तनाव अझै समाधानतर्फ स्पष्ट रूपमा अघि बढ्न सकेको छैन।
