भोली किन बन्द हुँदैछ सेयर कारोबार?
काठमाडौं । प्राविधिक समस्या देखिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको सेयर कारोबार स्थगित गरेको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो।
समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको भए पनि तत्काल सेवा नियमित हुने अवस्था नदेखिएपछि कारोबार रोकिएको हो।
डाटा सेन्टरको समस्या समाधान नगरी कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएको थियो। त्यसपछि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सोमबारको कारोबार स्थगित गर्न नेप्सेलाई आग्रह गरेको थियो।
ब्रोकर एसोसिएसनको अनुरोध र प्राविधिक अवस्थालाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार बन्द गर्ने निर्णय गरेको हो।
समस्या समाधान भएपछि सेयर कारोबार पुनः सञ्चालन गर्नेबारे आवश्यक सूचना जारी गर्ने नेप्सेले जनाएको छ।
