`

ज्ञानेन्द्र शाहीले भने – जेनजी शहीदकी आमाको आँसु पुछ्नुस्

Nepal One HD ६ असोज २०८३ १५:३६
बिशेष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका शहीदकी आमाको आँसु पुछ्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले सरकार गठन भएको ६ महिना बितिसक्दा पनि जेनजी आन्दोलनका दोषीमाथि कारबाही हुन नसकेको आरोप लगाए।

उनले राष्ट्रिय मानव अधिकार आयोगले घटनासम्बन्धी प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै दोषीमाथि कारबाही गर्न सरकार किन अघि नबढेको भन्दै प्रश्न गरे।

‘सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनकी शहीदकी आमा अहिले रुनुभयो। तपाईंहरूले सरकार चलाएको ६ महिना भयो। राष्ट्रिय मानव अधिकार आयोगले प्रतिवेदन बुझाइसकेको छ। को–को दोषी हुन् भनेर प्रमाणसहित प्रतिवेदन दिएको ६ महिना भयो। अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ?’ शाहीले प्रश्न गरे।

शाहीले आन्दोलनका दोषीमाथि कारबाही गर्न नसक्ने हो भने सरकारमा बसिरहनुको औचित्यमाथि समेत प्रश्न उठाए।

‘यदि पक्रिन सक्नुहुन्न भने सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? ती आमाको आँखाको आँसु पुछ्नुस्,’ उनले भने।

आन्दोलनमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि राजनीतिक आबद्धता नहेरी कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

‘जेनजी आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समातेर जेल हाल्नुस्,’ शाहीले भने।

संसद्मै एक जना सांसद आफ्ना सन्तानको पीडा सम्झिएर रोइरहेको प्रसंग जोड्दै उनले सरकारको संवेदनशीलतामाथि पनि प्रश्न उठाए।

‘संसद्मा एक जना सांसद रुँदै गर्दा कुर्सीमा तपाईंहरू कसरी बस्न सक्नुहुन्छ ? पक्राउ गर्नुस्,’ उनले सरकारलाई आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *