यूएन महासभामा सहभागी हुन बालेन अमेरिका प्रस्थान, दोहा हुँदै न्युयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिका प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह असोज ७ गते बुधबार दोहाबाट न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्। न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायत नेपाली अधिकारीहरूले स्वागत गर्नेछन्।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाह सोही दिन संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उनलाई भ्रमणसँग सम्बन्धित विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नुहुने कार्यक्रम रहेको छ।
