एम्बुलेन्समा ४५० किलो गाँजा, दुई जना पक्राउ
काठमाडौं । सुनसरीमा प्रहरीले एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज ७ गते राति करिब ११ः२४ बजे इटहरी उपमहानगरपालिका–२०, तरहरा पानीपिया जंगलस्थित कोशी लोकमार्गमा एम्बुलेन्स जाँच गरिएको थियो।
प्रहरी चौकी तरहराबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेको बा २ च ६७५३ नम्बरको एम्बुलेन्स रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
उक्त एम्बुलेन्समा ‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको पाइएको छ।
प्रहरीले एम्बुलेन्स र बरामद गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको छ।
पक्राउ परेका दुई जनामाथि गाँजा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
