जबरजस्ती करणी मुद्दाका फरार कैदी काभ्रेबाट पक्राउ
काठमाडौं। जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएर कारागारबाट फरार रहेका एक व्यक्तिलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला, पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ०७ स्थायी घर भएका २६ वर्षीय आर्यन पुरी रहेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार, २०८२/०१/२४ देखि कारागार कार्यालय नख्खु, ललितपुरमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२/०५/२४ मा ‘जेन्जी आन्दोलन’ का क्रममा १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी छँदै उनी नख्खु कारागारबाट फरार भएका थिए।
फरार भई काभ्रे जिल्लामा लुकिछिपि बसिरहेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई मिति २०८३/०६/०६ गते बागमती प्रदेश, काभ्रे जिल्लाको मन्दनदेउपुर नगरपालिका वडा नं. ०८ स्थित कुन्ताबेँसीबाट पक्राउ गरेको हो।
पक्राउ परेका पुरीलाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय नख्खुमा पेश गरिएको सिआइबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जनाएका छन्।
