‘सरकार असफल हुने छुट छैन’
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले आफ्नै दल नेतृत्वको सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारका केही महत्वपूर्ण क्षेत्रमा सुधार आवश्यक रहेको बताएका छन्। कान्तिपुरको फायरसाइड कार्यक्रममा रुपेश श्रेष्ठसँग अन्तर्वार्ताका क्रममा सिंहले सरकार असफल हुनुको अर्थ देश असफल हुनु भएकाले आफू सरकारको विरोध नभई सुधारका लागि आलोचना गरिरहेको बताए।
‘यो सरकार असफल हुनु भनेको देश सफल हुनु हो,’ उनले भने, ‘हामी सरकारलाई असफल हुन दिन्नौँ।’
उनले सरकारका कमजोरीमध्ये भूराजनीतिक सन्तुलन, आर्थिक क्षेत्र र संसद्-सरकार तथा पार्टी-सरकारबीचको सम्बन्धलाई प्रमुख रूपमा औँल्याए।
‘हाम्रा तीन छिमेकीसँगको सम्बन्ध सन्तुलित बनाउनुपर्छ। त्यो हाम्रो बाध्यता हो,’ सिंहले भने,’प्रधानमन्त्रीले भारत, चीन र अमेरिकासँग मात्र नभई राजनीतिक दल, निजी क्षेत्र, सुरक्षा निकाय, कर्मचारीतन्त्र तथा अन्य सरोकारवालासँग पनि निरन्तर संवाद गर्नुपर्छ।’
सिंहले सरकारको सुशासनको प्रयासलाई पूर्ण रूपमा अस्वीकार नगरे पनि त्यसको प्रभाव पर्याप्त रूपमा देखिन नसकेको बताए। उनका अनुसार किसानले पर्याप्त मल नपाउनु, लगानीकर्ताको विश्वास कमजोर हुनु र निजी क्षेत्र असुरक्षित महसुस गर्नु सरकारका लागि गम्भीर विषय हुन्। उनले अर्थतन्त्र चलायमान बनाउन व्यवसायीलाई वित्तीय अपराधमा कानुनअनुसार दण्डित गर्नुपर्ने तर अनावश्यक रूपमा थुन्ने प्रवृत्ति रोक्नुपर्ने धारणा राखे।
‘सरकारले केही पाइला चालेको छ, तर त्यो पर्याप्त छैन,’ सिंहको भनाइ थियो।
उनले सरकारको विदेश नीतिप्रति पनि चिन्ता व्यक्त गरे। नेपालले उत्तर र दक्षिण दुवै छिमेकी तथा अन्य शक्तिराष्ट्रसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने भन्दै सिंहले पछिल्ला द्विपक्षीय भ्रमणबाट ठोस उपलब्धि देखिन नसकेको बताए। व्यापार, लगानी, निर्यात, सीमा व्यवस्थापन र आर्थिक सहकार्यमा स्पष्ट उपलब्धि हासिल गर्नुपर्ने उनको भनाइ थियो। विशेषगरी सीमावर्ती क्षेत्रमा बजार व्यवस्थापन नगरी दैनिक उपभोगका सामानमा कडाइ गर्दा त्यहाँका सर्वसाधारण प्रभावित हुने भन्दै उनले सीमावर्ती बजारलाई नै व्यवस्थित र विकसित गर्नुपर्ने बताए।
सिंहले प्रधानमन्त्रीले निजी क्षेत्रलगायत विभिन्न पक्षसँग भेटघाट गरिरहेको विषयलाई सकारात्मक भने पनि यस्तो संवाद अझ व्यापक र नियमित हुनुपर्ने बताए। उनले प्रधानमन्त्री कार्यालयमा बिचौलियाको भूमिका अन्त्य हुनुपर्ने र प्रधानमन्त्री तथा सरकारका निर्णयमा अधिकारसँगै जवाफदेहिता पनि हुनुपर्ने धारणा राखे। ‘अथोरिटी विदाउट एकाउन्टेबिलिटी’ खतरनाक हुने भन्दै उनले सल्लाहकारको भूमिका सीमित रहेको र राज्यका महत्वपूर्ण प्रशासनिक जिम्मेवारीमा निर्वाचित कार्यकारी नेतृत्वकै प्रत्यक्ष भूमिका हुनुपर्ने बताए।
संविधान संशोधनको बहसप्रति पनि सिंहले अहिलेको प्राथमिकता संविधान संशोधनभन्दा सुशासन, विकास, समृद्धि र जनताको विश्वास पुनःस्थापना गर्नु रहेको बताए। उनले जनजी आन्दोलनपछि विभिन्न क्षेत्रका नागरिकमा कमजोर भएको विश्वास पुनःनिर्माण गर्नुपर्ने र नेपाललाई लगानीका लागि आकर्षक मुलुकका रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखे। साथै विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आह्वान गर्दै सरकारले उनीहरूलाई सहज वातावरण दिनुपर्ने बताए। सिंहले सरकारलाई असफल हुने छुट नरहेको दोहोर्याउँदै आफूले प्रधानमन्त्री र पार्टी नेतृत्वलाई सरकार सुधारका लागि प्रत्यक्ष रूपमा सुझाव दिइरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकार प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वको निर्देशनअनुसार चल्नुपर्नेमा सल्लाहकार तथा सचिवालयले अधिकार प्रयोग गर्ने अवस्था देखिएको भन्दै त्यसप्रति आफूले प्रश्न उठाएको बताएका छन्। उनले ‘अथोरिटी विदाउट एकाउन्टबिलिटी’को अवस्था देखिएको भन्दै प्रधानमन्त्रीको अधिकार सल्लाहकार वा सचिवालयले प्रयोग गर्न नहुने बताए।
‘अथोरिटी विदाउट एकाउन्टेबिलिटी’को अभ्यासको विरोध गर्नुपर्छ,’ त्यसक्रममा उनले भने, ‘म मेरो प्रधानमन्त्री र पार्टी सभापति प्रति मात्रै उत्तरयीछु।’
सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई सल्लाहकारहरूले दबाब दिएको र भारतमा प्रधानमन्त्रीका सल्लाहकारले अधिकारीहरूसँग भेटेको विषयमा आफूले संसदमा बोलेका कुरा सत्यमा आधारित रहेको उनको दाबी छ। उनले संसदलाई जनताको आवाज उठाउने र सरकारलाई खबरदारी गर्ने प्रमुख थलोका रूपमा आफूले लिने बताए।
सिंहले आफू सरकार ढाल्ने वा शक्ति खोज्ने उद्देश्यले आलोचना गरिरहेको भन्ने आरोप अस्वीकार गर्दै सरकारलाई सफल बनाउनकै लागि प्रश्न उठाइरहेको बताए। विगतमा आफूलाई मन्त्री बन्ने अवसर आए पनि जिम्मेवारी नलिएको प्रसंग उल्लेख गर्दै उनले आफ्नो राजनीतिक भूमिका सत्ता प्राप्तिभन्दा देश, संविधान र जनताप्रतिको निष्ठामा आधारित रहेको दाबी गरे। उनले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता संविधानका प्रमुख आधार भएकाले यी विषयमा विचलन देखिए आफूले बोल्ने बताए। रास्वपा नेतृत्वको सरकार समावेशिताप्रति प्रतिबद्ध रहेको दाबी गरिए पनि विश्वविद्यालय, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायमा मधेसीलगायत पछाडि पारिएका समुदायको प्रतिनिधित्वबारे सरकारले थप ध्यान दिनुपर्ने उनको भनाइ छ।
सिंहले देशलाई विभिन्न प्रकारका राजनीतिक, सामाजिक, जातीय, धार्मिक, भौगोलिक र अन्तर्राष्ट्रिय द्वन्द्वबाट जोगाउनु सबैको जिम्मेवारी भएको बताए। सरकार, सञ्चारकर्मी, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारीतन्त्र, निजी क्षेत्र र आम नागरिकले आ-आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्ने उनको भनाइ छ। देश सही बाटोमा अघि बढे समृद्धि र राष्ट्रिय एकता मजबुत हुने, तर गलत दिशातर्फ गए दुर्घटना निम्तिन सक्ने उनले बताए।
