राप्ती बबई क्याम्पस र अमेरिकाको सेन्ट्रल वायोमिड कलेजबीच शैक्षिक सम्झौता
काठमाडौं । दाङको तुलसीपुरस्थित राप्ती बबई क्याम्पस र अमेरिकाको सेन्ट्रल वायोमिड कलेज (सीडब्लूसी) बीच औपचारिक रूपमा शैक्षिक सहकार्य सम्झौता (एमओयू) भएको छ।
बुधबार भर्चुअल माध्यमबाट दुई संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।
राप्ती बबई क्याम्पसका सञ्चालक समिति अध्यक्ष श्यामकुमार रेग्मी, क्याम्पस प्रमुख गणेश पार्धे र सेन्ट्रल वायोमिड कलेजका प्रेसिडेन्ट ब्राड टिन्डालको सहभागिता रहेको सो समारोहमा प्राध्यापक डा. मोहन डाँगीले ‘सेतु’को रूपमा महत्त्वपूर्ण समन्वयकारी भूमिका निर्वाह गरेका थिए।
यस सम्झौतासँगै दुई उच्च शैक्षिक संस्थाबीच ज्ञान, अनुभव, प्राध्यापक तथा विद्यार्थी सहभागिता र उत्कृष्ट अभ्यासहरूको आदानप्रदान हुनेछ।
यसले राप्ती बबई क्याम्पसको अन्तर्राष्ट्रिय शैक्षिक सम्बन्ध विस्तार गर्न र विद्यार्थीहरूका लागि नयाँ शैक्षिक अवसरहरू सिर्जना गर्न महत्त्वपूर्ण आयाम थप्ने विश्वास गरिएको छ ।


