‘लेडी र्यापर’ मञ्जलीको ‘दनदनी’ सार्वजनिक, गीतसँगै सामाजिक सेवामा पनि सक्रिय
काठमाडौँ । ‘लेडी र्यापर’का रूपमा परिचित मञ्जली तामाङले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ र्याप गीत ‘दनदनी’ सार्वजनिक गरेकी छन्। गीत सार्वजनिकसँगै उनले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत समेत मनाएकी छन्।
‘दनदनी’ र्यापमा बुलेट फ्लो ‘थापाकाजी’को लेखन तथा कम्पोजिसन रहेको छ भने मञ्जली तामाङले प्रस्तुति दिएकी छन्। गीतमार्फत ट्रेन्डिङ र भाइरल हुने दौडमा मात्र नलागी आफ्नै मिसन र भिजनअनुसार अघि बढ्नुपर्ने सन्देश प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा विनोद राईको सिनेमेटोग्राफी, सुवास भट्टको कोरियोग्राफी र लोकेन्द्र सुब्बाको सम्पादन रहेको छ। ‘दनदनी’ मञ्जली तामाङ ‘लेडी र्यापर’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीत सार्वजनिक गर्नुका साथै मञ्जलीले जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै चन्द्रागिरि–१४, नैकाप, काठमाडौँस्थित सुजनशील अपांग पुनर्स्थापना केन्द्र तथा विशेष शिक्षा विद्यालयमा पुगेर त्यहाँ रहेका व्यक्तिहरूलाई खाना खुवाएकी छन्।
मञ्जलीले यसअघि ‘गरिबलाई कानुन’, ‘लिट मेन्दो माया’, ‘चेन्ज माइ नेशन’, ‘भ्रष्टलाई फाँसी’ र ‘कथा’ लगायतका र्याप गीत सार्वजनिक गरिसकेकी छन्।
सामाजिक तथा समसामयिक विषयलाई आफ्ना र्यापमार्फत उठाउँदै आएकी उनका गीतलाई दर्शकले रुचाउँदै आएका छन्।नयाँ गीत ‘दनदनी’मार्फत आफ्नै बाटो, सोच र लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने सन्देश दिन खोजिएको मञ्जलीको भनाइ छ।
