एक छाक भात खान नदिएर सुकुम्बासी लखेट्दै बालेन सरकार
काठमाडौं। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूलाई सरकारले पुनः विस्थापित गर्न खोजेको छ।
अस्थायी आश्रयस्थलमा बसिरहेका उनीहरूका लागि सरकारले खाना वितरणसमेत बन्द गरेपछि अवस्था थप कष्टकर बनेको छ। एक छाक खानासमेत नपाएपछि सुकुमवासीहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको छ। आइतबार उनीहरू सडक किनारमै बसेर खाना खान बाध्य भएका थिए।
बिहीबारदेखि नै होल्डिङ सेन्टरमा खाना उपलब्ध हुन छाडेको सुकुमवासीहरूको भनाइ छ। आइतबार बिहान उनीहरूका लागि खाना लिएर पुगेका अभियन्तालाई प्रशासनले सेन्टरभित्र प्रवेश गर्न नदिएपछि सडकबाहिरै खाना वितरण गरिएको थियो। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका १९ परिवारका ५९ जना यसरी सडकमा बसेर खाना खान बाध्य भएका हुन्।
गत वैशाखमा काठमाडौंका थापाथली, गैरीगाउँ, मनोहरा लगायतका नदी किनारका बस्तीबाट हटाइएका सुकुमवासीलाई सरकारले काठमाडौंको नागार्जुन तथा भक्तपुरको बोडे र खरिपाटीमा अस्थायी रूपमा राखेको थियो। त्यसयता उनीहरू सात महिनादेखि होल्डिङ सेन्टरमै बस्दै आएका छन्।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले बोडेमा आश्रय लिइरहेका सुकुमवासीलाई शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। प्रशासनले सुरक्षाकर्मी परिचालन गरेर माइकिङसमेत गर्दै ठाउँ खाली गर्न भनेको थियो। तर, वैकल्पिक आवासको व्यवस्था नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै सुकुमवासीले प्रशासनको निर्देशन अस्वीकार गर्दै आएका छन्। यसअघि उनीहरूले रित्तो थाल ठटाएर विरोध प्रदर्शनसमेत गरेका थिए।
सरकारले बस्तीबाट हटाइएका परिवारको लगत संकलन गरी १५ दिनभित्र उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो। तर, सात महिना बितिसक्दा पनि उनीहरूले स्थायी आवास पाउन सकेका छैनन्।
पुनर्वासको टुंगो नलाग्दै अस्थायी आश्रयस्थलमा खाद्यान्नसमेत उपलब्ध हुन छाडेपछि १९ परिवारका ५९ जनाको दैनिकी थप कष्टकर बनेको छ।
