`

सेती नदीमा बहाव बढेपछि रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

Nepal One HD ११ असोज २०८३ ११:०७
समाचार

पोखरा। लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि पोखराको रामघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

नदीको सतह बढ्दै गएपछि रामघाट आसपासका बस्ती डुबानको जोखिममा परेका हुन्। जोखिम बढेपछि सुरक्षाकर्मीले माइकिङ गर्दै स्थानीयलाई बस्ती छाडेर सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

स्थानीयलाई अत्यावश्यक सामान तथा महत्वपूर्ण कागजात साथमा लिएर सुरक्षित स्थानमा सर्न भनिएको छ। सुरक्षाकर्मीले नदीको बहाव बढेर रामघाट क्षेत्रमा डुबानको अवस्था सिर्जना भएकाले जोखिम नलिन आग्रह गरेका छन्।

प्रहरीका अनुसार गीता मन्दिर, क्रियापुत्री भवन र लक्ष्मीनारायण मन्दिर क्षेत्रमा भने तत्काल जोखिम नरहेको भन्दै आवश्यक परे ती स्थानमा जान सकिनेछ।

पछिल्ला केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। सेती नदीको बहाव तीव्र बनेपछि नदी किनार आसपासका बासिन्दामा जोखिम बढेको छ।

प्रशासनले नदी किनारमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदीको किनारमा नजान र आपत्कालीन अवस्था आए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *